सिंहदरबारमा विप्लवको डर ! चेकिङमा कडाइ
१० चैत, काठमाडौ । आइतबार सिंहदरबार प्रवेश गर्दा कडाइ गरिएको छ । सुरक्षा चुनौती रहेको भन्दै सिंहदरबार प्रदेशमा प्रहरीले कडाइ गरेको हो । अहिले सुरक्षा जाँचका कारण लामै लाइन छ ।
अन्य दिन परिचयपत्र वा पास देखाएर सिहदरबार प्रवेश दिइन्थ्यो । आइतबार भने सरकारी कर्माचारीका झोलासमेत चेकजाँच गरिएको छ ।
प्रहरीले विप्लव समूहका शीर्ष नेता हेमन्तप्रकाश वलीलाई काभ्रेबाट गिरफ्तार गरेर राजधानी ल्याएको भोलिपल्ट सिंहदरबारमा कडा चेकजाँच थालिएको हो । यद्यपि गृहमन्त्रालयका उच्च अधिकारीहरु सिंहदरबारको गेटमा भएको खान तलासीको कारणबारे खुलेर केही पनि बताउन चाहँदैनन् ।
सिंहदरबारमा ड्युटी गर्न आएका सरकारी कर्मचारीकै झोला समेत खोल्न लगाएर चेकिङ गरिएका कारण दक्षिण गेटदेखि माइतीघरसम्मै लाइन देखिएको छ । सरकारकै कर्मचारीको झोला किन खान तलासी गर्नुपरेको होला भन्दै सुरक्षाकर्मीलाई प्रश्न गर्दा उनीहरुले माथिबाटै चेकजाँचमा कडाइ गर्न आदेश आएको जवाफ दिए ।
आफ्ना नेताको गिरफ्तारीको विरोधमा विप्लव समूहले सिंहदरबारमै घुसपैठ गरेर बिस्फोटनका घटना गराउन सक्ने डरकार कारण सुरक्षामा कडाइ गरिएको हुन सक्ने सूत्रहरुको भनाइ छ ।
