त्रि.वि को परीक्षा विकृती, घरबाटै लेखेर ल्याइन्छ उत्तरपुस्तीका

काठमाडौ २१ कात्तिक । त्रिभुवन विश्वविद्यालयले परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तरपुस्तिका साट्ने गरेको खुलेको छ ।
परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ । उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमल दाहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गराएका छन । यो घटनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।
त्रियुगाकी विद्यार्थी (क)ले शिक्षा संकाय स्नातक दोस्रो वर्षको करिकुलम एन्ड इभ्यालुएसन (३१४) को परीक्षा २० असार ०७५ मा दिइन । गाईघाटकै बरुवा क्याम्पसकी (ख)ले व्यवस्थापन संकाय स्नातक दोस्रो वर्षको फन्डामेन्टल अफ मार्केटिङ (२१४) को सोही वर्ष १५ साउन र फन्डामेन्टल अफ ह्युमन रिसोर्स म्यानेजमेन्ट (२१६) को १७ साउनमा परीक्षा दिइन । दुवैको परीक्षा केन्द्र परेको थियो त्रियुगा क्याम्पस ।
(क) का लागि यो परीक्षा अन्तिम थियो । फेल भए पुनः परीक्षा दिन पाउने अवसर थिएन । (ख) पनि जागिरका लागि जुनकुनै हालतमा पास गर्ने जोडमा थिइन । तर, कमजोर तयारीका कारण पास हुन सक्ने विश्वास दुवैलाई थिएन । त्यसैले उनीहरूले परीक्षाअघि नै पास हुने ‘सूत्र’ खोजेका थिए । घुस दिन सके पास गराइदिने व्यक्ति पनि भेटाए । उनी थिए परीक्षा केन्द्र रहेको त्रियुगा क्याम्पसकै प्रशासन सहायक तेजनारायण चौधरी । चौधरीको ‘सेटिङ’ पनिका बल्खुसम्म थियो । पनिकाका लेखा अधिकृत कमल दाहालसँग उनको निकट सम्बन्ध थियो । दाहालले योजनामा साथ दिने विश्वास चौधरीलाई दिए । त्यसपछि चौधरीले दुवै छात्रालाई आफ्नै घरमा बोलाएर सक्कली प्रश्नपत्रअनुसार नयाँ उत्तरपुस्तिकामा उत्तर लेख्न लगाए ।
परीक्षा दिइसकेका दुवै छात्राको सक्कली उत्तरपुस्तिका अन्य परीक्षार्थीको उत्तरपुस्तिकासँगै प्याक भएर लाहाछाप लाग्यो । नक्कली उत्तरपुस्तिका भने चौधरीको साथमा थियो । सेटिङ मिलाएर केन्द्रबाट उत्तरपुस्तिका पनिका बल्खु ल्याउने जिम्मा चौधरीले नै लिए । पनिकामा चौधरीको भेट दाहालसँग भयो । दुवै मिलेर बल्खुमा उत्तरपुस्तिकाको पोको फुकाए । दुई छात्राका सक्कली उत्तरपुस्तिका निकाले । विषय, सिम्बोल नम्बर र परीक्षा नियन्त्रकको आधिकारिक छापलगायत रहेको सक्कली उत्तरपुस्तिकाको सबै भित्री पाना निकालेर नक्कली उत्तरपुस्तिका घुसाए र स्टिज गरिदिए । फेरि यी दुई उत्तरपुस्तिकालाई सबै रहेको पोकोमै मिसाए । उत्तरपुस्तिका जाँचकीकहाँ गयो । नतिजा आउँदै (क)ले ४१ तथा (ख)ले ५३ र ५९ नम्बर ल्याएर पास भए ।
गिरोह नै सक्रिय रहेको अख्तियारको आशंका
नक्कली उत्तरपुस्तिका लेखाएर पास गराउने अनियमिततामा गिरोह नै लागेको अख्तियारको आशंका छ । यस विषयमा अख्तियारले विस्तृत छानबिनसमेत गरिरहेको छ । ‘यस्तो प्रवृत्ति धेरै अघिदेखि नै थियो, अहिले उजागर भएको मात्र हो,’ अख्तियार स्रोत भन्छ । बिहिबार नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।
