वैदेशिक रोजगारीमा जान सवारी चालक अनुमतिपत्र अनिवार्य
काठमाडौं, २२ कात्तिक । सरकारले वैदेशिक रोजगारीमा सवारी चालकको पदमा जाने कामदारले अनिवार्य नेपाली सवारी चालक अनुमतिपत्र लिन पर्ने बनाएको छ ।
श्रम कार्यालय ताहाचलका अनुसार सवारी चालकका रूपमा जाने श्रमिकले नयाँ श्रम स्वीकृति लिँदा, श्रम स्वीकृति नविकरण गर्दा वा वैधानिकीकरण गर्दा अनिवार्य लाइसेन्स देखाउनुपर्ने व्यवस्था गरेको हो।
ताहाचाल कार्यालयका अनुसार नेपालमा लिएको वा विदेशमा लिएको जुन लाइसेन्स भए पनि अनिवार्य पेस गर्नुपर्ने प्रावधान ल्याइएको छ। गन्तव्य मुलुकमा सवारीचालक पेसालाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन यस्तो व्यवस्था गरिएको श्रम कार्यालय ताहाचलले जनाएको छ।
नेपालबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारका भिसा, कम्पनीसँग भएको सम्झौतापत्र (करारपत्र) तथा नेपालस्थित वैदेशिक रोजगार विभाग अन्तर्गतका कार्यालयबाट जारी हुने श्रम स्वीकृति सम्बन्धी विवरणमा पेसालगायत विवरणमा एकरूपता हुन आवश्यक हुने कार्यालयले जनाएको छ। तर हाल नेपालमा विदामा आएका कतिपय कामदारको भिसा, करारपत्र तथा श्रम स्वीकृतिसम्बन्धी कागजातमा उल्लेखित विवरण फरक पर्न गई पुनः श्रम स्वीकृति दिने प्रक्रियामा कानुनी तथा व्यावहारिक कठिनाइ उत्पन्न भएको उनीहरूको भनाइ छ।
विदेशमा कार्यरत नेपाली कामदारको पेसालगायत भिसा र करारपत्रमा उल्लेखित विवरण फरक भएको अवस्थामा उनीहरू सोही देशमा पुनः श्रम स्वीकृति लिई फर्किने भए विदामा नेपाल आउनुअघि आफ्नो कामको सीपसम्बन्धी प्रमाणपत्र लिनुपर्नेछ। विदामा आउने कामदारको भिसामा कामको प्रकृति फरक नपर्ने गरी भिसा जारी गर्ने व्यवस्थाका लागि सबै निकायमा समन्वयको व्यवस्था गर्न भनिएको छ। गैरआवासीय नेपाली समुदायका संघ संस्थामार्फत नेपालीमा उक्त विषयको सम्प्रेषण हुने व्यवस्थाका लागिसमेत विभागले निर्णय गरेको हो।
