Logo

मन्त्रिपरिषद मन्त्रीमण्डल पूर्नगठनका लागि तयारी



काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी ओलीले मन्त्रीमण्डल पूर्नगठन गर्ने तयारी गरेसंगै नेताहरु बिच छलफल तिव्र भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा अहिले सरकारमा रहेका हटाइने सम्भावित मन्त्रीदेखि नयाँ नियुक्त हुने मन्त्रीहरु सम्मका विषयमा नेताहरुबीच छलफल चलिरहेको छ।

छलफलका लागि सोमबार बिहान नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलगायतका नेताहरुको जमघट रहेको स्रोतले जानकारी दिएको छ ।

मन्त्री महासेठ क्याबिनेट भित्रका डेन्जर जोनका सम्भावित मन्त्री हुन् । करिब १ घण्टादेखि यी ५ नेताहरु बीच छलफल भइरहेको खुमलटार स्रोतले बताएको छ। प्रधानमन्त्री ओलीले दाहालसँगको छलफलपछि फालिने र मन्त्रिपरिषदमा ल्याइने नयाँ मन्त्रीका विषयमा अन्तिम निर्णय लिने तयारी गरेका छन् ।

दाहालसँग ओलीले सोमबार नै छलफल गर्दैछन् । ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ जलविद्युत परियोजनाको प्रधनमन्त्रीले आज सिंहदबारबाटै उदघाटन गर्ने कार्यक्रम रहेका कारण त्यो कार्यक्रम सकएपछि दाहालसँग उनले भेट्ने कार्यसूची बनाएका छन् । उर्जामन्त्री वर्षमान पुन पनि दाहाल निवासको छलफलपछि परियोजना उद्घाटन समारोहमा भाग लिन हेलिकप्टरमा नुवाकोटको किसपाङ गाउँपालिका पुग्नेछन् ।

ओली–दाहालको अन्तिम छलफलपछि ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्नेछन् । नेकपाको सचिवालय बैठकले आइतबार प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पूर्नगठनका लागि सैद्धान्तिक सहमति दिएको थियो । स्रोतका अनुसार बालुवाटारमा पनि प्रधानमन्त्री ओलीले क्याबिनेट पुर्नगठनकै एजेण्डामा केन्द्रीत रहेर आफू निकटस्थ नेताहरुसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्