पहिलो सगरमाथा संवाद, ‘जलवायु परिवर्तन, पर्वत र मानवीयताको भविष्य’ शीर्षकमा
काठमाडौँ, ६ मङ्सिर । सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको तयारी तीव्र पारेको छ । सगरमाथा संवादको पहिलो शृङ्खला ‘जलवायु परिवर्तन, पर्वत र मानवीयताको भविष्य’ शीर्षकमा आउँदो चैत २०, २१ र २२ गते तीन दिन सञ्चालन गरिने भएको छ । जलवायु परिवर्तन र यसको असरमा परेका नेपालजस्तो पर्वतीय देश र साना टापु राष्ट्र एकै डोरीमा उनिँदै असर न्यूनीकरण र अनुकूलन उपायको खोजी गर्नेछन् ।
विश्वमा बढ्दो विकास र औद्योगिकीकरणले पारेको प्रभावका कारण विश्वकै उच्च शिखर सगरमाथामा परेको नकारात्मक असरको परिणाम सबै देशले भोग्नुपर्ने भएकाले त्यसको समाधानमा जुट्नुपर्ने सन्देश दिन संवादको माध्यम रोजिएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । सगरमाथा संवादको तयारी र सञ्चालनका लागि स्थापना गरिएको सचिवालयको बिहीबार उद्घाटनलगत्तै आयोजित अन्तक्र्रियामा मन्त्री ज्ञवालीले सगरमाथा संवादलाई सफल पार्न आग्रह गरेका छन्।
नेपालको मौलिक शान्ति प्रक्रिया, समावेशी प्रजातन्त्र, वातावरण संरक्षणमा नेपालको सफलता, नेपालको सांस्कृतिक विविधता, विश्व शान्ति स्थापनामा नेपालले गरेको योगदान, क्षेत्रीय सहयोग प्रवद्र्धनमा नेपालको भूमिका, महिला उत्थान तथा अन्य सीमान्तकृत वर्गको सशक्तीकरणजस्ता क्षेत्रमा प्राप्त अनुभवलाई विश्वमाझ राखिने बर्ताका छन् ।
संवादको कार्यसूची;
कार्याक्रम आगामी चैत २० गते भव्य उद्घाटन हुनेछ । त्यो दिन उद्घाटनकै उत्सव मनाइनेछ । चैत २१ र २२ को मध्यसम्म विभिन्न विषयगत सत्रमा सघन बहस, मन्थन र अनुभव आदानप्रदान समेत हुनेछ ।
