Logo

पढ्ने र घुम्ने खर्चमा राष्ट्र बैंकको कडाइ



काठमाडौं, ८ मंसिर । वर्षेनी नेपालको ठूलो रकम अध्ययन तथा विदेश भ्रमणका लागि विदेशीने गरेको छ । तर अध्ययन खर्च र विदेश भ्रमणमा मात्रै अर्बौ रकम विदेशिएको भन्दै नेपाल राष्ट्र बैंकले यसलाई कडाइ गरेसँगै खर्च घटेको छ।

साउनदेखि असोजसम्मको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा अध्ययन तथा विदेश भ्रमण प्रायोजनका लागि खर्च हुने रकम घटेको देखिन्छ । यो तीन महिनामा अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यही अवधिमा ४० प्रतिशतले बढेको थियो ।

यो वर्ष अध्ययन तथा भ्रमणका लागि २१ अर्ब २१ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ । जुन अघिल्लो वर्षको भन्दा २८ प्रतिशतले न्यून हो । अघिल्लो वर्षको तीन महिनामा २९ अर्ब ४९ करोड रुपैयाँ बाहिरिएको थियो ।

यसमा अध्ययनका लागि भन्दै यो वर्ष १० अर्ब २४ करोड रुपैयाँ गएको छ भने भ्रमण प्रायोजनका लागि ११ अर्ब बाहिरिएको छ । यो वर्ष भ्रमणभन्दा अध्ययनका लागि विदेशीने खर्च घटेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष ७ अर्ब न्यून खर्च भएको छ ।

बैंकले अघिल्लो वर्षदेखि नै व्यक्तीगत भ्रमण प्रायोजनका लागि दिने डलर सटही सुविधा पनि कटौति गरेको थियो । उसले २५ सयबाट झारेर १५ सयमा सिमित बनाएको थियो । त्यस्तै कर कार्यालयले पनि कम्पनीहरुले गर्ने विदेशमा गर्ने भ्रमण खर्चलाई खर्चमा देखाउन नपाइने नीति लिएको थियो । यसले पनि केही खर्च कम गरेको सरकारी बुझाइ छ।

नेपाल राष्ट्र बैंकले यो वर्षका लागि ल्याएको मौद्रिक नीतिबाट डलर सटहीमा कडाइ गर्ने नीति लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्