Logo

बालाचतुर्दशी आज



काठमाडौँ, ८ मङ्सिर । प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउछन् । आज दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्वमनाइन्छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउछन् । यसरी आएका श्रद्धालु भक्तजनको आज बिहानैदेखि पशुपतिमा भीड लाग्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउछन् ।

शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ ।

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्