Logo

ट्रायल फेल भएकाहरु पनि पास, यातायातका प्रमुखसहित ३८ विरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं, ८ मंसिर । यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र प्रदेश नम्बर ३ एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेलसहित ३८ जना कर्मचारीविरुद्ध अख्‍तियारले मुद्दा दायर गरेको हो ।

२०६९ वैशाख, जेष्ठ र आषाढ महिनामा भएका प्रयोगात्मक परीक्षामा फेल भएका १२८४ जनालाई मिलेमतोमा पास गराइएको उनीहरुलाई आरोप छ । उनीहरुले परीक्षाको परिणाम फेरबदल गरी सवारी चालक अनुमतिपत्र जारी गरेको र उक्त जारी गरेका सवारी चालक अनुमतिपत्रहरु मध्ये नयाँ सवारी चालक अनुमतिपत्रको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको अख्तियारले बताएको छ । जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजश्व रकमसमेत नलिई राजस्व चुहावट गरी सरकारी सम्पत्ति हिनामिना हानिनोक्सानी गरेको आरोपपत्रमा उल्लेख छ ।

आयोगका अनुसार ट्रायल परीक्षामा फेल भएका एक हजार २८४ जनालाई तीन महिनामै लाइसेन्स वितरण गरिएको थियो  । लाइसेन्स वितरण गरिएकामध्ये ६० जनालाई परीक्षामा फेल भएर पनि पास गराइएको थियो । त्यस्तै, ट्रायलमा एकपटक फेल भएका तीन सय सातजनालाई ट्रायलमा पुनः समावेश गरिएको थियो । चार सय ४७ जनालाई त ट्रायलमा फेल भएर परीक्षा समितिले फेल उल्लेख गरी निर्णय गरिसकेकोमा पनि पुनः परीक्षा समितिले ‘रिजल्ट’ मा अन्यथा हुन गएको भनी पुनः पास गराएको थियो । ट्रायलमा फेल भएका र परीक्षा समितिको ‘रिजल्ट’मा समेत फेल भएका चार सय ७० जनालाई पनि पास गराइएको थियो  । 

लाइसेन्सका लागि लिने परीक्षामा अनियमितता गरेको आरोपमा अख्तियारले प्रहरी नायब उपरीक्षक (डिएसपी), उपसचिवदेखि खरिदारसम्मविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) र एक डिएसपीसहित ३ उपसचिव, १३ शाखा अधिकृत, १४ नासु, ५ खरिदार र १ इन्जिनियरविरुद्ध मुद्दा दायर गरेको छ । 

आरोप लागेकाहरुमा उपसचिव पोखरेल सहित इन्जिनियर बासुदेव पोखरेल हाल अवकास प्राप्त, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक हाल प्रहरी नायब उपरीक्षक नवराज थापा, शाखा अधिकृत (हाल अवकास) राममणी पोखरेल, शाखा अधिकृत (हाल निलम्बन) ईश्वरराज रेग्मी, शाखा अधिकृत शम्भुप्रसाद थपलिया, तत्कालिन शाखा अधिकृत हाल उपसचिव धर्मराज ढुंगाना, तत्कालीन शाखा अधिकृत (हाल उपसचिव) बाबुलाल रेग्मी लगायत छन् ।

कस्ले कति कति बिगो भर्नुपर्ने ?

आनन्दकेशरी पोखरेल (कार्यालय प्रमुख): आठ लाख ७९ हजार
बासुदेव पोखरेल (इन्जिनियर): तीन लाख ४६ हजार
मुरारी मिश्र (इन्स्पेक्टर): २४ हजार तीन सय
नवराज थापा ९तत्कालीन इन्स्पेक्टर हाल डिएसपी० स् २४ हजार नौ सय
राममणि पोखरेल (शाखा अधिकृत): ३५ हजार नौ सय
ईश्वरराज रेग्मी (शाखा अधिकृत): ३० हजार
शम्भुप्रसाद थपलिया (शाखा अधिकृत) : ११ हजार एक सय
धर्मराज ढुंगाना (तत्कालीन शाखा अधिकृत हाल उपसचिव): तीन हजार दुई सय
बाबुलाल रेग्मी (तत्कालीन शाखा अधिकृत हाल उपसचिव): सात सय

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । आयोगका अनुसार यातायातमा दायर भएका मुद्दामध्ये यो हालसम्मकै सबैभन्दा ठूलो हो  । 

प्रतिक्रिया दिनुहोस्