सुब्बाको करोडौं गैर कानुनी सम्पत्ति, परिवारकै ९ जना विरुद्ध आरोप पत्र
काठमाडौं, १० मंसिर । मालपोत कार्यालय सिमराका सुब्बा मदनप्रसाद गुप्त विरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ । गुप्तले पदीय दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै उनी विरुद्ध मुद्दा दर्ता गराएको हो । उनले अस्वाभाविक रुपमा उच्च जीवन यापन गरिरहेको भन्दै कारवाही गरी पाउँ भनी मुद्दा दर्ता हुन आएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान अनयोगले गुप्तको सम्पत्तिमाथि अनुसन्धान गरेको थियो ।
उनी २०४७ साल देखि मालपोत कार्यालय मुस्ताङबाट खरिदारको पदमा सेवा प्रवेश गरी २०६४ सलमा नायब सुब्बाको पदमा बढुवा भई मालपोत कार्यालय पर्सा हुँदै सिमरामा निमित्त कार्यालय प्रमुख समेत भएका थिए ।
अनुसन्धानमा गुप्तले एक वर्षको २०७५/०७६ को अवधिमा मात्रै ४ करोड ५४ लाख भन्दा बढी वैद्य स्रोत देखाएर सम्पत्ति आर्जन गरेकोे छ भने १४ करोड ८१ लाख भन्दा बढी सम्पत्तिको नखुलेको स्रोतबाट आर्जन गरेको पुष्टि भएको छ । गुप्तले आफू र आफ्नो परिवारका सदस्यको लगायत अन्य व्यक्तिहरु समेतका नाममा दर्ता कायम रहने गरी द्धर जग्गा, सवारीसाधन तथा व्यवसाय लगायतका विभिन्न शीर्षकहरुमा लगानी गर्ने गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।
गुप्तसंगै उनकी श्रीमती, दुई छोराहरु र अन्य आफन्तहरुलाई समेतलाई भ्रष्टचार निवारण ऐन अनुसार विगो दाबी सहित मंगलबार विशेष अदालतमा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
