Logo

वरिष्ठ पत्रकार विनय कसजूको निधन



काठमाडौं, १० मंसिर । वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ । कात्तिक १९ गते निमोनियाका कारण ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजुको मंगलबार दिउँसो निधन भएको हो ।

कसजू सूचना आयोगका संस्थापक प्रमुख आयुक्त हुन् । सूचना हक तथा सूचना आयोगको स्थापनाका लागि कसजूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पत्रकारिता र साहित्य दुवै विधामा परिचित कसजू जनमूखी सञ्चार माध्यमका पक्षपाती हुन् । उनले साहित्यतिर छोटा कथा र बाल रचनामा विशेष रुपमा कलम चलाएका थिए ।

उनको जन्म पाल्पाको तानसेनमा सन् १९४७ जुलाई १८ का दिन जन्मेका कसजुको ग्रामीण पत्रकारिताको विकासमा विशेष योगदान छ । उनले गाउँले जनजीवनलाई उपयोगी हुने गरी देउराली गाउँले भित्ते पत्रिकाको सुरुवात गरेका थिए ।

उनले सन् १९९६ देखी १९९९ नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा काम गरेका थिए । राष्ट्रिय समाचार समितिको बोर्डको सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा पनि काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्