भूकम्पपीडितहरुका लागि विशेष सहयोग कार्यक्रम
काठमाडौँ, १५ मङ्सिर । पहिलो किस्ताबापतको रकम बुझेर पनि आवास निर्माण गरेका भूकम्पपीडितहरुका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले फेरी विशेष सहयोग कार्यक्रम ल्याएको छ ।
सरकारले उपलब्ध गराएको पहिलो किस्ताको ५० हजार रुपियाँ बुझिसकेर पनि सर्तअनुसारको आवास निर्माण गर्न नसकेका वा काम सुरु गरेर पनि विभिन्न कारणले सम्पन्न गर्न नसकेका लाभग्राहीका लागि प्राधिकरणले व्यक्तिगत तहमा नै पुगेर कारण पत्ता लगाउने र आवश्यक सहयोग गर्ने योजना बनाएको छ ।
त्यस्तै वृद्धवृद्धा मात्रै भएको, १६ वर्षमुनिका बालबालिका, एकल महिला वा अपाङ्गता भएका व्यक्तिजस्ता जोखिम वर्गमा परेका लाभग्राहीका लागि पनि प्राधिकरणले विशेष सहयोग उपलब्ध गराएर निजी आवास निर्माणलाई अन्तिम रूपमा पु¥याउने योजना बनाएको छ । यसका लागि स्थानीय तहमार्फत करिब एक हजार डकर्मी र २५० भन्दा बढी सामाजिक परिचालक खटाउने योजना अगाडि सारेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले तयार पारेको कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार निजी आवास पुनःनिर्माणका लागि सात लाख ७६ हजार ९२२ जनाले अनुदान सम्झौता गरेकोमा हालसम्म चार लाख ७९ हजार ५४५ लाभग्राहीले घर निर्माण गरिसकेका छन् । यो करिब ६१.७ प्रतिशत हो । त्यस्तै एक लाख ८९ हजार १४१ निर्माणाधीन अवस्थामा छन् । यी घर सम्पन्न हुँदा करिब ८६ प्रतिशत उपलब्धि हासिल हुन्छ । त्यसबाहेक बाँकी २४ प्रतिशतमध्ये कतिले आवास बनाउन चाहेका छन् वा कतिले अन्य विकल्प भएकाले बनाउन नचाहेका छन् ।
