Logo

साग अपडेटः २७ पुग्यो नेपालको स्वर्ण पदक



काठमाडौं, १८ मङ्सिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २७ स्वर्ण जित्न सफल भएको छ । सागको तेस्रो दिन नेपालले साइक्लिङ्गको डाउनहिलमा दुई स्वर्ण र दुई रजत तथा कराँतेमा एक र ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा एक एक गरी चार स्वर्ण जितेको छ ।

बुधबार अपरान्ह गोकर्णमा भएको साइक्लिङ्गको पुरुष विधा तर्फ राजेश मगरले स्वर्ण पदक जितेका छन् । उनले एक मिनेट ४९ दशमलव ३३ सेकेण्डमा एक किलोमिटर दुरी पार गर्दै स्वर्ण पदक हात पारेका हुन् ।

त्यसैगरी, साइक्लिङ्ग महिला विधा तर्फ निश्मा श्रेष्ठले स्वर्ण जितेका छन्। उनले एक किलोमिटरको दुरी दुई मिनेट २२ दशमलव ४५ सेकेण्डमा तय गरेका थिए । दोस्रो स्थान प्राप्त गरेका जमुना थापाले उक्त दुरी २ मिनेट ४१ दशमलव ४५ सेकेण्डमा पार गरी रजत हात पारेका थिए ।

कराँते कुमुते खेलमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेका छन् । कराँते विधामा मात्रै नेपालको स्वर्ण पदकको संख्या १० पुगेको छ । उनले ६८ किलो तौल समूहको फाइनल स्पर्धामा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराएका थिए । अनुपमाले ६८ किलो तौल समूहको फाइनल स्पर्धामा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराएका थिए। नर्गिसले इन्डोनेसियामा गत वर्ष सम्पन्न एसियाली खेलकुद प्रतियोगितमा नेपालकी रिता कार्कीलाई हराएर कास्य पदक जितेको थियो । श्रीलङ्काकी विजेकुन माथिमोहमदमाथि ७–४ ले जित हात पार्दै अनुपमा स्वर्ण पदकको स्पर्धामा पुगेका हुन् ।

यस अघि बुधबार बिहान ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा दिपक हमालले स्वर्ण पदक दिलाएका थिए । ऊसुमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । हमालले भारतका साजन लामालाई १९.१२ को अपेक्षा १९.३२ स्कोर गरे ।

नेपालले साग उद्घाटनको भोलीपल्ट सोमबार १५ स्वर्ण जितेको थियो । दोस्रो दिन आठसहित मंगलबार कुल स्वर्ण २३ पुर्याएको नेपालले बुधबार बिहान ४ स्वर्ण जितेर कुल स्वर्ण संख्या २७ पुर्याएको हो ।

प्रतिक्रिया दिनुहोस्