लोक सेवा विशेषः सामाजिक संरक्षणको अवधारणा, महत्व र विकाससँगको अन्तरसम्बन्ध
सामाजिक संरक्षणको अवधारणा र महत्व प्रकाश पार्दै विकाससँगको अन्तरसम्बन्धको छोटो विवेचना प्रस्तुत गर्नुहोस् । (३+४+३ =१०)

सामाजिक संरक्षण;
गरिव र जोखिममा रहेका व्यक्ति समुदायको संरक्षण, सिमान्तीकृत वर्गको सामाजिक मान र अधिकारको सुदृढिकरण मार्फत गरिब, संकटापन्न र सीमान्तिकृत वर्गको सामाजिक आर्थिक संकट न्यूनिकरणको उद्देश्यका लागि आय र उपभोग सुनिश्चत गर्ने सरकारी र निजि प्रयासहरुलाई सामाजिक संरक्षण भनिन्छ ।
मानवअधिकारको विश्वव्यापी घोषणापत्रका अनुसार सामाजिक सुरक्षालाई मानवअधिकारको रुपमा परिभाषित गरिएको पाइन्छ । सामाजिक संरक्षणको कार्यक्रममको गुणस्तर, फैलावट र मात्रा मुलुकको आर्थिक(सामाजिक अवस्था र अर्थ राजनीतिमा निर्भर गर्दछ । एसियाका करिब ६० प्रतिशत महिलाहरु पर्याप्त सामाजिक संरक्षणको सुविधाबाट बञ्चित रहेको तथ्यांकले देखाएको छ । पर्याप्त सामाजिक संरक्षणको सुविधाका लागि मुलुकहरुले आफ्नो कूल गार्हस्थ उत्पादनको करिब ०.८१ प्रतिशत लगानी गर्नु पर्ने मान्यता रहेको पाइन्छ ।
सामाजिक संरक्षण अन्तर्गत देहायका विषयवस्तुलाई अनिवार्य ठानिन्छ,
– बालबालिकालाई आधारभूत आय आर्जनको सुरक्षा
– पर्याप्त आयआर्जन गर्न नसक्ने वयस्कहरुलाई आधारभूत आयआर्जको सुरक्षा
– वृद्धहरुको आयआर्जनमा सुरक्षा
– पोषण, शिक्षा र अत्यावश्यक वस्तु र सेवाको उपलब्धता
– सवैका लागि आधारभूत स्वास्थ्य सुविधा
– बाल बालिका, महिला, अशक्त एवं अपागंता भएका व्यक्तिहरुको लागि विशेष व्यवस्था
सामाजिक संरक्षणको महत्व
सामाजिक संरक्षण एक वृहद अवधारणा हो । सामाजिक सुरक्षा विमा व्यवसायिक स्वास्थ्य र संरक्षण विशेष कार्यक्रम लगायतका विभिन्न तरिकाबाट कार्यान्वयन गर्ने गरिन्छ । मुलभुत रुपमा सामाजिक संरक्षणका देहायका चारवटा कार्यात्मक उद्देश्यहरु हुन्छन् ।
- Protective: providing relief from deprivation
- Preventative: averting deprivation
- Promotive: enhancing incomes and capabilities
- Transformative: social equity and inclusion, empowerment and rights
खासगरी न्यून आय भएका अतिकम विकसित र विकासोन्मुख मुलुकमा सामाजि संरक्षणको मुद्दा राजनीतिक र विकासको केन्द्रमा रहेको हुन्छ । मुलुकको समग्र विकासमा सामाजिक संरक्षणको महत्व र प्रभाव देहाय बमोजिम रहेको पाइछ ।
– गरिवी र सामाजिक वहिष्करणको न्यूनिकरण
– आयमा रहेको असमानता घटाउन
– मानव पूँजी विकास गर्न
– भोकमरी न्यूनिकरण गर्न र खाद्य सुरक्षामा योगदान पुर्याउन
– शैक्षिक विकासमा टेवा पुर्याउन
– स्वास्थ्य सेवा र गुणस्तरको विकास गर्न
– सम्मानजनक रोजगारी र समावेशी आर्थिक वृद्धि हासिल गर्न
– रोजगारी प्रवर्द्धन गर्न
विकाससँगको अन्तरसम्बन्धको विवेचना
सामाजिक संरक्षणले राज्य र निजिक्षेत्र समेतको लगानीको माग गर्दछ । नगद हस्तान्तरण होस वा विमा वा अन्य संरक्षणकारी क्रियकलाप होस सबैमा अतिरिक्त लगानीको आवश्यकता पर्दछ । उल्लेख्य संख्यामा रहेका तर उत्पादकत्वका हिसावले कमजोर अवस्थामा रहेका जनशक्तिलाई विकास प्रक्रियाको सवै तहमा सार्थक सहभागी गराउने प्रयोजनले पनि सामाजिक सुरक्षामा गरिने खर्च तर्कसंगत हुन्छ । राष्ट्रिय भाव र अपनत्वको निर्माणमा सामाजिक सुरक्षाले महत्वपूर्ण अर्थ राख्दछ । विकासले अपेक्षा गरेको परिणाम वा प्रभाव समावेशी र दिगो समृद्धि हो । दिगो विकासका हरेक लक्ष्यमा सामाजिक सुरक्षाको चासो अन्तरघुलित भएको पाइन्छ । तसर्थ सामाजिक संरक्षण समग्र विकास प्रक्रियाको साध्य पनि हो । अझ राजनीतिक दृष्टिकोणबाट हेर्दा त सामाजिक संरक्षण लोकतान्त्रिक पद्धतिको मर्म पनि हो ।
विकासको मोडल वा अर्थराजनीतिले अख्तियार गरेको नीतिका आधारमा सामाजिक सुरक्षा प्रतिको दृष्टिकोण फरक फरक हुन सक्दछ । संरक्षणले सकारात्मक विभेदको माध्यमबाट समानता स्थापित गर्ने मान्यता राख्दछ । गरिब मुलुकहरु सामाजिक संरक्षणको दुष्चक्रमा पर्न सक्ने अवस्था भने रहन्छ । यसै पनि बहुसंख्यक जनता गरिवी र अभावमा रहेका हुने वा राज्यको विशेष संरक्षण र सुविधाको अपेक्षा गर्ने अवस्थामा रहेका हुने जहाँ आर्थिक वृद्धि र अर्थतन्त्रको आकार र गुणस्तर पनि सानो र कमजोर हुन्छ । त्यस्ता मुलुकहरुमा सामाजिक संरक्षण र उत्पादकत्व अभिवृद्धि वीचको सन्तुलन चुनौतीपूर्ण हुन सक्दछ । यसका लागि सामाजिक विकासका नीति र कार्यक्रमहरुको सन्तुलित र दिगो कार्यान्वयन अत्यन्त जरुरी हुन्छ ।
