Logo

लोक सेवा विशेष: मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा



मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा स्पष्ट पार्दै नेपालको सार्वजनिक प्रशासनमा यसको अवलम्वनले पार्न सक्ने सकरात्मक प्रभावहरुको चर्चा गर्नुहोस् ।

मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा
व्यवस्थापनको मानव सम्पर्क सिद्धान्त वा व्यवहारवादी मान्यताको विकास भएसंगै पुरानो कर्मचारी प्रशासनको मान्यतामा परिवर्तन आई मानव श्रोत व्यवस्थापनको अवधारणाको विकास भएको हो । यस अवधारणामा कर्मचारीलाई वस्तु वा साधनको रुपमा नहेरी मानवीय भावना, संवेदना, उत्प्रेरणा लगायतका विषयमा विशेष जोड दिइन्छ । यस अवधारणालाई जनशक्ति व्यवस्थापन वा मानव संसाधन व्यवस्थापन समेत भनिन्छ ।

मानव संसाधन व्यवस्थापन वा मानव श्रोत व्यवस्थापन भनेको संगठनको लक्ष्य र उद्धेश्य प्राप्तिका लागि मानवीय क्षमताको उच्चतम उपयोग गर्ने कार्य हो । संगठनमा आवश्यक कर्मचारीको भर्नापूर्वदेखि अवकास पश्चात सम्मका नीतिगत, संरचानगत र कार्यक्रमगत व्यवस्थापन नै जनशक्ति व्यवस्थापन हो ।

मानव संसाधन राष्ट्रको सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै हो । मानव श्रोतको सक्षमताबाट मात्र भौतिक, वित्तीय, प्राविधिक तथा सुचना श्रोतको प्रभावकारी रुपमा परिचालन गर्न सकिने भएकोले यो महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्र हो । जनशक्ति परिचालनलाई सफल बनाउन व्यवस्थापकीय शीप तथा शैलीको प्रयोग गर्ने कार्य पनि हो यो ।

सार्वजनिक संगठनमा मानव श्रोत व्यवस्थापन भन्नाले संगठनमा जनशक्तिको प्राप्ति, विकास, उपयोग र सम्भार गरी संगठन र कर्मचारी दुवैको आवश्यकता एवं उद्देश्य पुरा गर्नु हो । मानवश्रोत व्यवस्थापनले प्राप्ति भन्दा अगाडि र अवकाश भन्दा पछाडिको अवस्थालाई समेत समेट्ने भएकोले संगठनमा Pre Recruitment to Post Retirement Management का रुपमा यसलाई लिइन्छ ।

मानव श्रोत व्यवस्थापनमा संगठन र यसमा कार्यरत जनशक्तिको उत्पादकत्व वृद्धिका लागि संगठनमा मानव तत्वलाई महत्व दिईन्छ । अर्थात कुनै पनि संगठनको वास्तविक शक्ति भनेको त्यहाँ कार्यरत जनशक्ति हो भन्ने मान्यता रहेको छ । संगठनको मुटुका रुपमा जनशक्तिलाई स्वीकार गरिएको छ ।

मानव श्रोत व्यवस्थापनको अवधारणाले संगठन र कर्मचारी दुवै पक्षलाई उत्तिकै महत्व दिएको हुन्छ । कर्मचारीहरुलाई मानव पुंजिको रुपमा ग्रहण गर्ने र उनिहरुको क्षमताको विकास, उपयोग एवं संरक्षणले मात्र संगठन र व्यक्ति दुवैको आवश्यकता पुरा हुन सक्छ भन्ने मान्यता यस अवधारणाले राख्दछ । वास्तवमा मानवलाई खुसी बनाएर काममा लगाउने र तिनको संगठनको लक्ष्य प्राप्तिमा भरपुर उपयोग गर्ने कला नै जनशक्ति व्यवस्थापन हो ।

संगठनलाई आवश्यक पर्ने जनशक्तिको पहिचान, माग, भर्ना, छनोट, नियुक्ति, पदस्थापना, विकास, उपयोग, संहार तथा अवकाश सम्बन्धि समग्र कार्यको उपयुक्त रुपमा संचालन गर्ने वा मिलाउने कार्यप्रणाली नै जनशक्ति व्यवस्थापन हो ।

कर्मचारीहरुमा प्रचूर क्षमता एवं सम्भावनाहरु रहेका हुन्छन, यसलाई पहिचान र विकास गरी संगठन र ब्यक्ति दुवैको हितमा उपयोग गर्नु नै मानव श्रोत व्यवस्थापनको उद्देश्य हो ।

डेकेन्जो र रविन्सका अनुसार मानव संसाधनको प्राप्ति, विकास, उत्प्रेरणा र संभार (Maintenance) प्रक्रिया नै मानव संसाधन व्यवस्थापन हो ।

मानव संसाधन व्यवस्थापन निरन्तर चलिरहने प्रक्रिया हो । यो सवै तहका व्यवस्थापकले गर्नुपर्ने नियमित कार्य हो । यसले संगठनको उद्देश्यहरु प्राप्त गर्न सघाउंछ । यो एउटा व्यवस्थित दीर्घकालीन रणनीतिक योजना हो ।

वेन्डेल फ्रेन्चका अनुसार मानिसको व्यवस्थापन सम्वन्धी दर्शन, नीति, कार्यविधि एवं अभ्यास सम्वन्धी कार्यको समष्टिगत स्वरुप मानव संसाधन व्यवस्थापन हो ।

नेपालको सार्वजनिक प्रशासनमा मानव संसाधन व्यवस्थापनको अवलम्वनले पार्ने सकरात्मक प्रभावहरु:
नेपालका तीनै तहका सरकारी तहहरुका तर्फबाट देश र जनताको लागि वस्तु, सेवा एवं शासकीय मूल्यहरुको प्रवाह गर्ने स्थायी, अविछिन्न उत्तराधिकार प्राप्त, वैधानिक एवं सार्वजनिक संयन्त्रलाई सार्वजनिक प्रशासन भनिन्छ । नेपालको सार्वजनिक प्रशासनमा कर्मचारी प्रशासनको परम्परागत मान्यताको स्थानमा मानव श्रोत व्यवस्थापनका नवीन एवं आधुनिक मान्यता र शैलीहरुको अवलम्वन गर्दा पर्न सक्ने केही प्रमुख सकरात्मक प्रभावहरु तल दिइएको छ;

– सबैभन्दा दक्ष, योग्य, प्रतिस्पर्धी र जागरुक जनशक्तिको प्राप्ति हुन्छ,
– उपयुक्त कार्य वातावरण निर्माण गर्छ,
– कर्मचारीको ज्ञान सीप र क्षमता प्रस्फुटन गराउँछ,
– लक्ष्य, उदेश्य प्राप्तीलाई मितव्ययी बनाउँछ,
– उत्प्रेरित र उत्साहित जनशक्तिको विकास हुन्छ,
– सम्भावित जोखिमको पूर्व आँकलन गर्छ,
– संगठन र कर्मचारी दुवैको उदेश्य पूरा गर्छ,
– कार्य गुणस्तर अभिवृद्धि गर्छ,
– सामाजिक एवं पर्यावरणीय अन्तरसम्वन्ध कायम गर्छ,
– संगठनको प्रतिष्ठा बढाउँछ,
– व्यवसायीक विकासको अवसर दिन्छ,
– समूह भावना र समूह कार्यको विकास गर्छ,
– उचित श्रम सम्बन्ध कायम गर्छ,
– सांगठनिक द्वन्द न्युनीकरण गर्छ,
– योग्यता, क्षमताको कदर हुनुका साथै अल्छीपना, अनैतिक कार्य निरुत्साहन हुन्छ,
– राजनीतिक र प्रशासनिक आरोप प्रत्यारोपलाई न्युनीकरण गर्छ,
– संगठनलाई विस्तार गरी दिगो बनाउँछ आदि ।

निष्कर्ष,
कुनै पनि प्रणालीको अवलम्वन गर्दा मात्रै सबै समस्याहरु समाधान भई चाहेको कुरा प्राप्त हुन्छ भन्ने हुँदैन । तथापि असल बाटो हिँडेपछि गलत ठाउँमा पुगिदैन । यसर्थ मानव श्रोत व्यवस्थापनको मान्यता अवलम्वन गरेपछि जनशक्तिको सम्मान, उचित भुक्तानी, उत्प्रेरणा लगायतका कार्यबाट संगठनको उत्पादन र उत्पादकत्व दुबै अभिवृद्धि भई सरकारी लक्ष्य उदेश्य प्राप्ति सरल, मितव्ययी र प्रभावकारी बन्न जानेमा कुनै सन्देह छैन ।

प्रतिक्रिया दिनुहोस्