Logo

सार्वजनिक निजि साझेदारीको विशेषता, यसको फाइदा र चुनौतीहरु



सार्वजनिक निजि साझेदारीको विशेषताहरु उल्लेख गर्दै यसको फाइदा र चुनौतीहरु लेख्नुहोस् । (४+२+४=१०)

पूर्वाधार निर्माण, सुधार, व्यवस्थापन वा सञ्चालन, मर्मत सम्भार, सेवा प्रवाह आदि क्षेत्रमा लगानी सुनिश्चित गरी प्रभावकारीता अभिवृद्धि गर्ने उद्देश्यका साथ सार्वजनिक वा सरकारी निकाय र निजिक्षेत्रवीच गरिने साझेदारी एवं सहयोगको एक स्वरुप लाई सार्वजनिक निजि साझेदारी (पिपिपि) भनिन्छ ।

सार्वजनिक निजि साझेदारी तथा लगानी ऐनले सार्वजनिक निकाय र लगानीकर्तावीच स्रोत वा प्रतिफल बाँडफाँट तथा जोखमि व्यहोर्ने गरी आपसी सहकार्यमा पूर्वाधार संरचना निर्माण सञ्चालन पुनस्थापना वा सार्वजनिक सेवा प्रवाह गर्न परियोजनाको कार्यान्वयन गर्ने प्रबन्धलाई सार्वजनिक निजि साझेदारी भनी परिभाषित गरेको छ । पिपिपि करारजन्य र संस्थागत गरी साझेदारी सामान्यतय दुई किसिमका हुन्छन् । सार्वजनिक निजि साझेदारीका मुख्य विशेषताहरु निम्न बमोजिम रहेका छन् ।

पिपिपिका विशेषताहरु;
१) निजिक्षेत्रबाट सार्वजनिक पूर्वाधार वा सेवा प्रवाह गर्ने करारजन्य वा संस्थागत प्रवन्ध
२) पूर्ण वा आंशिक रुपमा निजिक्षेत्रको लगानी
३) वहन गर्न सक्ने क्षमताका आधारमा सरकारी र निजिक्षेत्रवीच जोखिम वहनको पनि साझेदारी
४) बहु सरोकारवालको संलग्नताका कारण जटिल कार्यसंरचना र उच्च सञ्चालन खर्च
५) निजि क्षेत्र साझेदारमा कार्यसम्पादन जोखिम हस्तानतरण
६) सफल खरिद व्यवस्थापनको औजार
७) प्रतिफलमा आधारित व्यवस्थापन
८) सेवाहरुको एकत्रित स्वरुप
९) न्यून पूँजी र उच्च सञ्चालन खर्च निरुत्साहन

सामान्यतय पिपिपि पूर्वाधार निर्माण र सेवा प्रवाह सम्बन्धी जोखिमको व्यवस्थापन गर्ने नयाँ र गतिशिल उपायको रुपमा अभ्यास गर्ने गरिएको पाइन्छ । पूर्वाधार आयोजना निर्माण समयमा नै सम्पन्न गर्न, सेवाको गुणस्तर र पहुँचमा सुधार एवं सेवा प्रवाहको जीवन चक्रमा जोड, कार्यदक्षता र नवपर्वतनशीलताको प्रवर्द्धन पिपिपिका मुख्य सबल पक्षहरु हुन । पिपिपिका फाइदाहरु बुँदागत रुपमा निम्नानुसार प्रस्तुत गरिएको छ ।

सार्वजनिक निजि साझेदारीका फाइदाहरु,
– आयोजनाको शिघ्र निर्माण
– सरकारको बजेटरी कार्यदक्षतामा वृद्धि
– जोखिमको वहन र न्यूनिकरण
– सेवाग्राहीको हित केन्द्रित
– कार्यदक्षता र लागत प्रभावकारीतामा सुधार
– अतिरिक्त राजश्वको वृद्धि
– निजिक्षेत्रको क्षमता विकास
– सरकारी क्षेत्रलाई रणनीतिक कार्यक्षेत्रमा केन्द्रित हुने अवसर
यी विशेषता र फाइदाहरु रहेको भए तापनि पिपिपि प्यानेसिया भने होइन् । देहायका मुख्य चुनौती वा समस्याहरु पिपिपिमा रहेका छन् ।

पिपिपिका चुनौतीहरु,
१) जटील र सामान्यतय जड संरचना
२) खरिद र कार्यान्वयनमा लामो समय र बढि लागत लाग्न सक्ने
३) कैयन आयोजनका लागि सैद्धान्तिक रुपमा नै अनुपयुक्त हुने
४) सार्वजनिक क्षेत्रमाथि अतिरिक्त जिम्मेवारी र दायित्व सिर्जना हुने
५) पिपिपि व्यवस्थापन गर्न छुट्टै कानूनी र संरचनागत व्यवस्था गर्नुपर्ने वाध्यता
६) सञ्चालन खर्चका कारण सर्वसाधरणका लागि महँगो सेवा लिनुपर्ने वाध्यता
७) यथार्थमा जोखिम हस्तान्तरण हुन नसकी सरकारी क्षेत्रले नै जोखिम लिनुपर्ने अवस्था
८) सिमित निजि साझेदारसँग रहेको सीमित अनुभव
९) सरकारी दुर्वलता र निजिक्षेत्रको दुर्वलता हावी हुन सक्ने

पूर्वधार, संरचना तथा सेवा क्षेत्रमा स्वदेशी वा विदेशी निजि क्षेत्र समेतको लगानीको माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन सार्वजनिक निजि साझेदारीमा परियोजनाहरु सञ्चालन र व्यवस्थापन गर्ने गरिएको पाइन्छ ।

यो लगानी प्रत्याभूत गर्ने मात्र उपाय नभई सरकारी क्षेत्रको कानूनी वा वाध्यकारी शक्ति र निजिक्षेत्रको सफल व्यवस्थापनको सम्मिश्रणबाट सम्भावित जोखिमहरुको न्यूनिकरण गरी अपेक्षित विकास लक्ष्य हासिल गर्ने एक उपायको रुपमा पनि लिइन्छ । निजि लगानीकर्ता र सार्वजनिक क्षेत्रको आ आफ्नो सक्षमतालाई सिनर्जीमा परिणत गरी मुलुकको आर्थिक विकासमा र समृद्धिमा योगदान दिने गरी पिपिपिको अवधारणा अभ्यासमा ल्याउन स्पष्ट नीतिगत मार्गदर्शन र प्रतिवद्धताको जरुरी पर्दछ ।

प्रतिक्रिया दिनुहोस्