५ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस

काठमाडौं, २५ मंसिर । सरकारले उपकुलपति रिक्त भएका ५ वटा विश्वविद्यालयमा नयाँ नियुक्तिका लागि नाम सिफारिस गरेको छ। विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले केही दिनअघि प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको हो । उपकुलपति रिक्त ६ वटा विश्वविद्यालयमध्ये पूर्वाञ्चल विश्वविद्यालयमा भने कसैको नाम सिफारिस गरिएको छैन ।
स्रोतका अनुसार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा रमेश भट्टराई, भारती चन्द र पूर्णबहादुर चन्दको नाम सिफारिस गरिएको छ,मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा जनार्दन लामिछाने, केशरसिंह राना र नन्दकुमार सिंहलाई सिफारिस गरिएको छ भने नेपाल संस्कृत विश्वविद्यालयमा यादवप्रकाश लामिछानेको विषयमा छलफल भइरहेको जनाएको छ ।
त्यस्तै पोखरा विश्वविद्यालयका लागि लामिछानेसहित केशरजंग बराल र देवराज अधिकारीको नाम सिफारिस गरिएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयमा शारदा थपलिया, पुण्य रेग्मी र विष्णुहरि पण्डितको नाम सिफारिस गरिएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयमा भने सम्भावित व्यक्तिबारे छलफल भए पनि कसैको पनि नाम सिफारिस गरिएको छैन ।
सिफारिस गरिएका व्यक्तिमध्येबाट एक जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गर्नेछन् । प्रधानमन्त्री सबै विश्वविद्यालयका कुलपति हुने कानुनी व्यवस्था छ ।
