स्वास्थ्य संस्थामा प्रसूति हुन आएमा ४ हजार रुपैयाँ नगत पाइने

वीरेन्द्रनगर, २६ मंसिर । कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुनेले पोषण बापत २ हजार रकम पाउने भएका छन् । योसहित कर्णाली प्रदेशका सुत्केरी आमाले अबदेखि स्वास्थ्य संस्थामा प्रसूति हुन आएमा चार हजार ८ सय पाउने व्यवस्था गरिएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले यही मङ्सिरदेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा आउने महिलालाई पोषणबापत दुई हजार रकम दिने व्यवस्था गरेको छ । प्रदेशका १० जिल्लामा लागू हुने गरी सुत्केरी कोसेली कार्यक्रम लागू गरिएको छ । प्रसूति हुन स्वास्थ्य संस्थामा आउन प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको सामाजिक प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य संस्थामा सुत्केरी हुन आएबापत यातायातबापत दुई हजार, चारपटक गर्भ जाँच गरेबापत ८सय र पोषणबापत २ हजार रकम सुत्केरी महिलाले पाउने छिन् । पोषणबापत दिइने २ हजार प्रदेश अस्पतालका हकमा भने विपन्न महिलालाई मात्र प्रदान गरिने छ । अन्य सबै स्वास्थ्य संस्थामा भने सबै महिलालाई प्रदान गरिने व्यवस्था गरिएको छ ।
