Logo

राष्ट्रियसभाको चुनाव माघ ९ गते, सकिदैछ १९ सदस्यको पदावधि



काठमाडौं, २६ मंसिर । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त निर्णय गरेको जानकारी गराएका हुन् ।

५९ जना सदस्य रहेको राष्ट्रियसभामा १९ सदस्यको फागुन २० गतेदेखि पदावधि सकिँदैछ । कानुनी व्यवस्था अनुसार पदावधि सकिनु ३५ दिन अघि नै निर्वाचनको तयारी गरिसक्नुपर्ने हुन्छ ।

फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ९, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना रहेका छन् ।

कार्यकाल सकिनेमा सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा.युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको दुई वर्षे पदावधि सकिँदैछ । अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा. युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछ ।

राष्ट्रियसभा सदस्यका लागि गाउँपालिका अध्यक्षरउपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्