आर्थिक वृद्धिदर संशोधन गरिएको छैन
काठमाडौँ, २७ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा कुनै संशोधन नभएको बताएको छ । अहिलेसम्म वृद्धिदर संशोधन गर्ने विषयमा कुनै पनि तयारी नभएको जनाएको छ ।
बिहीबार विश्व बैङ्कको ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले बाहिर हल्ला भएजस्तो आर्थिक वृद्धिदरको लक्ष्य कम नगरिएको बताएका हुन् ।
सरकारले चालू आर्थिक वर्षका लागि बजेटमार्फत साढे आठ प्रतिशत हाराहारीको वृद्धिदरको लक्ष्य राखेको छ । अर्थ मन्त्रालयले प्रकाशन गर्ने बुलेटिनमा गल्तीले ७.१ प्रतिशत वृद्धिदरको लक्ष्य उल्लेख हुँदा यसमा संशोधन भएको विषय बाहिर आएको थियो । यद्यपि त्यसलाई सच्याएर बजेट अनुसारकै वृद्धिदरको लक्ष्य राखिएको छ ।
यता विश्व बैङ्कले भने सन् २०१९ को नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहने जनाएको छ । नेपालसम्बन्धी उक्त प्रतिवेदनमा समग्रमा आर्थिक गतिविधि बढेकाले वृद्धिदर पनि उच्च नै रहने उल्लेख छ । त्यस्तै प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा ६.४ र सन् २०२१ मा ६.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
सङ्घीय नेपालको तथ्याङ्कीय भविष्यलाई केन्द्रित गरिएको प्रतिवेदनमा आर्थिक विकासका लागि पर्याप्त तथ्याङ्क आवश्यक रहने उल्लेख गरिएको छ । खतिवडाले अर्थतन्त्रसम्बन्धी कतिपय तथ्याङ्क वास्तविक नभएको र पछिल्लो विकासलाई समेत नसमेटेको भन्दै कुल गार्हस्थ्य उत्पादन मापन गर्ने आधार वर्ष सन् २०००/२००१ लाई परिवर्तन गरेर आव सन् २००९/१० पुर्याउने तयारी भएको जानकारी दिए ।
