Logo

४ महिनाको घाटा ४ करोड



बुटवल, २९ मंसिर । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) चालु आर्थिक वर्षको पहिलो ४ महिनामै पौने चार करोड घाटामा गएको छ । साउन महिनादेखि कात्तिकको पहिलो चौमासिकमा ३ करोड ५९ लाख घाटामा छ ।

गत आर्थिक वर्ष डीडीसीले ३ करोड ९ लाख नाफा कमाएको थियो । तर, दुग्ध पदार्थको बजारीकरणमा असन्तुलन भएपछि चालु आर्थिक वर्षको सुरुवातमै डीडीसीले घाटा व्यहोर्नु परेको छ । कच्चा दूध संकलनमा कमी, धुलो दूध र मख्खनको मौज्दात कम भएकाले कारोबार घटेको डीडीसीले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७०र०७१ मा डीडीसीको घाटा १५ लाख ५७ हजार थियो । त्यसपछिका तीन आर्थिक वर्ष नाफा आर्जन गरेको डीडीसीले चालु आर्थिक वर्षको सुरुआतमै ठूलो घाटा व्यहोरेको हो । ०७४र०७५ मा ५ करोड ९१ लाख नाफा थियो ।

चालु आर्थिक वर्षको ४ महिनामा डीडीसीले १ करोड ५२ लाख लिटर दूध संकलन गरी १ करोड २७ लाख लिटर बिक्री गरेको छ । गत वर्ष यसै अवधिमा १ करोड ५५ लाख लिटर दूध संकलन गरी १ करोड ३४ लाख लिटर प्रशोधन पछि बिक्री गरेको थियो ।

दूध, मख्खन, चिज, स्किम मिल्क पाउडर बिक्रीमा गिरावट आएपछि संस्थान घाटामा पुगेको छ। संस्थानले हरेक वर्ष औसतमा करिब ५ करोड लिटर दूध संकलन तथा बिक्री गर्दै आएको छ ।पछिल्लो ५ वर्ष संस्थानको दूध संकलनमा १० प्रतिशत र बिक्रीमा ९ प्रतिशतले ह्रास आएको हो । संस्थानले २०७० यता दूध संकलन नै कम गरेको छ ।

२०७०/०७१ मा संस्थानले ६ करोड लिटर दूध बिक्री गरेको थियो। तर गत आर्थिक वर्षमा जम्मा ४ करोड लिटर मात्रै बिक्री भएको छ । चार वर्षकै अन्तरमा संस्थानले बिक्री गर्ने दूधको मात्रामा दुई करोड लिटर फरक देखिएको छ ।

संस्थानले ४४ जिल्लाका १ हजार २ सय दुग्ध उत्पादक सहकारीबाट करिब २ लाख किसानले उत्पादन गरेको दूध संकलन गर्ने गरेको छ । दूध संकलनका लागि ६५ वटा चिस्यान केन्द्र, ८ वटा प्रशोधन केन्द्र छन् ।

संस्थानका चिज तथा पनिर उत्पादन गर्ने १७ वटा कारखाना छन् । याक चिज उत्पादन गर्न रसुवा, दोलखा, रामेछाप र सोलुखुम्बुमा १० कारखाना छन् । इलाम र पाँचथरमा कञ्चन चिज र पनिर उत्पादन गर्ने ७ उद्योग छन् ।

काठमाडौं, विराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज र धनगढीमा दुग्ध प्रशोधनबाट दूध संकलन र बिक्री हुँदै आएको छ । संस्थानका अनुसार गोठमा उत्पादन भएको दूधमध्ये ८० प्रतिशत खुला रूपमा घरघरमै बिक्री हुने गरेको छ । करिब २० प्रतिशत दूध मात्रै प्रशोधन गरी संस्थान र निजी कम्पनीले बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्