नेपाल-भारत सीमा समस्या बन्यो छलफलको एजेन्डा

काठमाडौं, २९ मंसिर । सत्तारुढ दल नेकपाको आइतबार बस्ने स्थायी समिति बैठकमा नेपाल(भारत सीमा समस्या पनि छलफलको एजेन्डा बनेको छ ।
भारतले कात्तिक १६ मा नेपालको कालापानी क्षेत्रलाई पनि समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा यसको चौतर्फी विरोध भइरहेका बेला नेकपा स्थायी समिति बैठकले यस यसबारे छलफल गर्न लागेको हो ।
यस विषयलाई उसले पार्टी स्थायी समिति बैठकको एजेन्डामै समेटेको छ । स्थायी समिति बैठकको कार्यसूची तय गर्नका लागि आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ५ वटा कार्यसूची तय गरेको छ । जसमध्ये सीमा समस्यालाई कार्यसूचिको तेस्रो बुँदामा समावेश गरेको छ ।
सरकारले कालापानी क्षेत्रको सीमा समस्या समाधानका लागि सर्वदलीय बैठक राखेर लिम्पियाधुरासम्मको क्षेत्र नेपालको भएको स्पष्ट पारिसकेको छ । भारतलाई परराष्ट मन्त्रालयमार्फत कुटनीतिक नोट पठाएर भारतले जारी गरेको राजनीतिक नक्साको विरोध जनाइसकेको छ भने सीमा समस्या समाधानका लागि परराष्ट सचिवस्तरको वार्ताका लागि मिति प्रस्ताव समेत गरिसकेको छ।
स्थायी समिति बैठक आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ ।
