दूरसञ्चारको निर्णय विरुद्ध सिजी कम्युनिकेसनको रिट

काठमाडौं, ३० मंसिर । दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी बढाबढका लागि गरेको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
फ्रिक्वेन्सी बढाबढको निर्णयले सिजी कम्युनिकेसन प्रालिलाई असर पर्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो । चौधरी ग्रुरपको स्वामित्वमा रहेको सिजी कम्युनिकेसनका तर्फबाट टीकाराज कार्कीले दूरसञ्चारको निर्णयविरुद्ध रिट निवदेन दर्ता गरेका हुन् ।
दूरसञ्चारले मंसिर १९ मा फ्रिक्वेन्सी बढाबढको सूचना प्रकाशन गरेको थियो । दूरसञ्चारले पुस २ मा फ्रिक्वेन्सी लिलाम बढाबढ गरिने सूचनामा उल्लेख गरेको छ । ‘बढाबढको सूचनाले सिजी कम्पनीलाई अपुरणीय क्षति पुग्ने, यस अदालतको आदेशको विपरीत हुने भएकाले निवेदनको अन्तिम टुंगो नलाग्दासम्म फ्रिक्वेन्सी बढाबढको कार्य कार्यान्वयन नगरी यथावत् राख्नु भनी अन्तरिम आदेशसमेत जारी गरिपाँऊ’ रिट निवेदकको माग छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ माघ २२ को निर्णयले सिजीले किस्ताबन्दीमा रकम लिने निर्णय गरेको थियो । कम्पनीले बुझाउनुपर्ने रकम बुझाइसकेको दाबी रिट निवेदनमा गरेको छ ।
