देशभर बढ्यो चिसो, हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ, ३० मंसिर । पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिएका छन् । उक्त वायुको प्रभावले देशभर चिसो बढेको छ ।
तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ भने पूर्वी तराईका केही भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
बुधबारबाट मौसमी प्रणालीमा सुधार आउने जनाइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियस रहेको छ ।
