फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा तोकियो

काठमाडौं, ३० मंसिर । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० प्रकारका फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा तोकेको छ ।
अन्तर्राष्ट्रिय संस्था कोटेक्सको मापदण्डलाई आधार मानेर विषादीको अधिकतम सीमा तोकिएको हो । सरकारले पहिलोपटक विषादीको सीमा तोकेको छ । बढी मात्रामा आयात, निर्यात हुने र सबभन्दा बढी उपभोग हुने खाद्य वस्तुमा विषादीको सीमा तोकिएको विभागले जानकारी दिएका छन् ।
विभागका अनुसार स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, टमाटर, चियामा विषादीको अधिकतम सीमा तोकेर नेपाल राजपत्रमा प्रकाशन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव स्वीकृतिको लागि पठाइएको छ ।
थप १३ प्रकारका फलफूल तथा तरकारीको विषादीको सीमा तोक्न विभागले अध्ययन गरिरहेको बताइएको छ । बोडी, सिमी, परवल, भेंडे खुर्सानी, काँक्रो, घिरौंला, प्याज, फर्सी, जुगेनी, रायो साग, सुन्तला, आँप र अङ्गुरमा विषादीको अधिकतम सीमा तोक्न अध्ययन भइरहेको छ ।
त्यस्तै, भेटनरी ड्रगअन्तर्गत कुखुरा, हाँस टर्की, खसीबोका, भेडा, बंगुर, सुँगुर खरायो र माछाको मासुको पनि विषादीको अधिकतम सीमा तोकिने भएको छ। यसका लागि विभागले अध्ययन गरिरहेको छ ।
विभागले थन्केर बसेको एलसिएमएस/एएएस तथा आइसिपि–एमएस जस्ता उपकरण मर्मत गरी यस्ता वस्तुको विषादी जाँच गर्न लागेको हो ।
खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा तरकारीको विषादी जाँचका लागि पनि विभाग १५ वटा आरबिपीआर उपकरणको खरीद प्रक्रियामा रहेको छ ।
