Logo

नेपाली भाषा, रंगीन फोटो र ‘क्लियर विण्डो’सहित छापिँदै स्मार्ट लाइसेन्स



काठमाण्डौ, २ पुस । धेरै समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने काम फेरि सुरु भएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रिन्टिङ मेशिन ल्याएसँगै गएको मंसिर २४ गतेदेखि परीक्षण छपाइ सुरु गरेको हो । नयाँ छापिएका अनुमति पत्र (लाइसेन्स) मा सुरक्षा र व्यवहारिकताका हिसाबले केही परिवर्तनहरु गरिएका छन् ।

नेपाली भाषा – नयाँ छापिएको अनुमति पत्र ९लाइसेन्स० मा नेपाली अक्षर पनि लेखिने भएको छ । अब वितरण हुने स्मार्ट लाइसेन्समा अंग्रेजीसँगै नेपाली अक्षर पनि लेखिने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार अब प्रिन्ट हुने स्मार्ट कार्डमा नेपालीमा ‘नेपाल सरकार’ र ‘सवारी चालक अनुमतिपत्र’ भनेर लेखिनेछ । अहिलेसम्म लाइसेन्समा अंग्रेजीमा मात्र लेखिने गरेको छ ।

रंगीन फोटो – अब बन्ने स्मार्ट लाइसेन्समा राखिने फोटो रंगीन हुनेछ । र फोटो टिकाउ बनाउनका लागि यसलाई लेजर युनिक्रोमसहित लेमिनेसन पनि गरिएको छ स्मार्ट कार्डमा लेखिएको अक्षरहरु पहिले झै लेजरको प्रयोग गरेर नै लेखिएको हुनेछ ।

क्लियर विन्डो – सुरक्षाको लागि र कसैले नक्कल गर्न नसकून् भनेर स्मार्ट सवारी चालक अनुमति पत्रमा नेपालको नक्सा रहेको छेवैमा पारदर्शी चारकुना राखिएको छ । जसलाई क्लियर विन्डो भनिन्छ ।

डोबिट – यसको साथै कार्डको पछाडि क्याटेगोरी रहेका ठाँउको माथि बैंकको एटीएम कार्डमा प्रयोग हुने धर्का ९डोबिट० राखिएको छ । पहिला भएको कोल्टाउँदा टल्कने किसिमको कोड भएको प्रविधि सीएमआई एलएमआई अब वितरण हुने कार्डमा हुनेछैन ।

यो पटकदेखि प्रिन्ट हुने स्मार्ट कार्डमा नेपाली नागरिकको हकमा स्थायी ठेगाना राखिनेछ भने विदेशी नागरिकलाई दिने अस्थायी लाइसेन्समा अहिले रहेको स्थान खुलाइएको हुनेछ । पहिलाको स्मार्ट कार्डमा फोन नम्बर लेखिएको स्थानमा अब कन्ट्याक नम्बर लेखिनेछ ।

स्मार्ट कार्ड यो पटक मात्रै परिर्वतन भएको भने होइन । सुरुमा आएको स्मार्ट कार्डको पछाडिको भाग खाली थियो । त्यसपछिको लटमा आएको स्मार्ट कार्डको पछाडि क्याटेगोरीहरुको जानकारी राखिएको थियो ।

मंगलबारबाट परीक्षणका रुपमा थालिएको लाइसेन्स छपाइ पछि करिब ३५०० कार्ड प्रिन्ट गरिसकिएको छ । परीक्षण प्रिन्ट भए पनि सो कार्ड सेवाग्राहीलाई वितरण गर्न सकिने मापदण्डको हुने यातायात व्यवस्था विभागले जनाकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्