लोकसेवाका कर्मचारी जुनसुकै बेला सरुवा गर्न सकिने

काठमाडौं, ३ पुस । सरकारले लोकसेवा आयोगमा कार्यरत कर्मचारीको जुनसुकै बेला सरुवा गर्न सक्ने व्यवस्थासहित कानुन संशोधनको तयारी गरेको छ । दुई दिनअघि बसेको राज्य व्यवस्था समितिको बैठकले लोकसेवा आयोगका कर्मचारी सरुवा गर्दा आयोगको सहमति लिइरहन नपर्ने व्यवस्था गरेको हो । लोकसेवाको वर्तमान ऐनमा लोकसेवा आयोगमा कार्यरत कर्मचारीलाई सरुवा गर्दा सरकारले आयोगको सहमति लिनुपर्ने व्यवस्था छ ।
यस विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने त्यसको विरोध गरेको छ। बुधबार राज्य व्यवस्था समितिमा छलफल भएको लोकसेवा आयोगसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा कांग्रेस सांसदले सरकारको स्वच्छाचारिता बढ्ने भन्दै असहमति जनाएको छ।
यो व्यवस्थाले लोकसेवा आयोगको विश्वसनीयता, स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठ्ने कांग्रेसको मत छ । परीक्षा लिने, उत्तरपुस्तिका जाँच गर्ने, प्रश्नपत्र तयार गर्ने कर्मचारीलाई आयोगलाई नसोधी सरकारले सरुवा गर्दा आयोगको काम मै प्रभाव पर्ने र आयोगको निष्पक्षता र विश्वसनीयता नरहने अवस्था आउन सक्ने कांग्रेसको भनाई छ ।
यता सरकारले भने लोकसेवाले यो व्यवस्थाको दुरुपयोग गर्दै एउटै व्यक्ति लामो समयसम्म लोकसेवामा राखिराख्ने प्रवृत्ति बढेकाले यस्तो व्यवस्था राखिएको जनाएको छ । लोकसेवा अयोगले नयाँ कर्मचारीका भर्नाका लागि परीक्षा सञ्चालन गर्ने, उत्तर पुस्तिका जाँच गर्ने, लोकसेवाले लिने विभिन्न क्षेत्रका विषयमा प्रश्नपत्र तयार गर्नेलगायतका काम गर्दै आएको छ ।
