सङ्घीय संसद् अधिवेशन भोलिबाट

काठमाडौँ, ३ पुस । सङ्घीय–संसद्को पाँचौँ अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । अधिवेशनसँगै भावी सभामुख चयन र सदनको कामकारबाहीका विषयमा सचिवालयले तयारी थालेको छ । पहिलो बैठकको कार्यसूचीबारे सचिवालय गृहकार्यमा रहे पनि सभामुख चयनबारे राजनीतिक वृत्तमा औपचारिक रूपमा विषयले प्रवेश पाएको छैन भने शीर्ष तहमा अनौपचारिक रूपमा भने केही परामर्श भइरहेका छन् ।
हालको संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ । यसअघि तत्कालीन माओवादी केन्द्रबाट सभामुख र एमालेबाट उपसभामुख चयन भएका थिए । सभामुखको स्थान बीचमै रिक्त भएपछि पुनः चयन गर्नुपर्ने अवस्था छ । औपचारिक प्रक्रिया कहिले सुरु गर्ने यकिन भइसकेको छैन । तर, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नै सभामुखमा उम्मेदवार उठाउन उपसभामुखको राजीनामा अनिवार्य छ ।
के के छन् कर्यसूचीमा ?
अधिवेशनको पहिलो दिन सामान्य कार्यसूची मात्र तय छ । सभामुख चयनको कार्यतालिकामा दलबीच राजनीतिक सहमति नभएमा पहिलो दिनको बैठक छोटो हुने छ । पहिलो दिन राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानका लागि प्रेषित पत्र वाचन हुने छ । यस्तै शहीदका नाममा मौनधारण र अधिवेशन नभएका अवधिमा निधन भएका पूर्वसदस्यहरूको शोक प्रस्ताव मात्र कार्यसूची रहने छन् । दलीय सहमति भएमा सभामुख चयनको कार्यतालिका सार्वजनिकका लागि निर्देशन हुने छ तर उक्त सम्भावना न्यून देखिन्छ ।
