Logo

‘लोक’ सेवा कि ‘लक’ सेवा : एक मनोबैज्ञानिक विश्लेषण



अनवरत संघर्षले भरिपूर्ण जिन्दगी आफैंमा एउटा परीक्षा हो । हामीले यो सुन्दर धर्तीमा पाइला टेक्नु नै पहिलो परीक्षा उत्तीर्ण गर्नु हो । धेरै परीक्षाहरु तपाईं हामीले उत्तीर्ण गरिसक्यौं । सकारात्मक सोचका साथ अगाढि बढेमा अब आउने परीक्षाहरुमा पनि उर्तीण भईन्छ र हाम्रो सानो प्रयासले लाखौं दीनदुःखीको अँध्यारो जीवनमा उज्यालो ल्याउन सक्छ ।

लोकसेवा आयोगको परीक्षामा सफलता पाउन मेरो अनुभव र विचारलाई निम्न ३ चरणमा बाँढेर विश्लेषण गरेको छु ।

१. विषयवस्तु पढ्नुपूर्वको चरण वा मनोबैज्ञानिक रुपमा तयारी :
यो चरण लोकसेवामा सफलता पाउनको लागि सबैभन्दा महत्वपुर्ण र कठीन हुँदो रहेछ । जसरी शिशुले गर्भावस्थामा चुनौती झेल्छ र आमाले प्रसव पीडा झेल्छिन त्यसरी नै यो चरण निकै नै पीडादायी, निराशा, द्धिविधा, जोखिमको अवस्था हो । लोकसेवा प्रति इच्छुक हुनेहरुको अनुभव सुन्दा यो अवस्थामा प्रायः निम्न मनोविज्ञानबाट गुज्रिन्छनः लोकसेवाको Form भरुँ कि नभरुँ, अहिलेको सानोतिनो जागिर छोडुँ कि नछोडुँ, छोडीहाले पछि यही पनि नमिल्ला कि ? घर परिवारले साथ देलान कि नदेलान ? मेरो छोराछोरीलाई कसले हेरचाह गर्ला ? आदि ।

अविवाहितको मनमा पनि अनेक कुरा खेल्छनः उमेर ढल्न थाल्यो, विहे पनि भएको छैन, लोकसेवाले त जोगी बनाउला जस्तो छ , अरु प्रतिस्पर्धी त म भन्दा पक्कै बलिया होलान, अरुले त धेरै ट्युशन पढेका छन तर मेरो त ज्ञान शुन्य छ, मेरो त दिमागै छैन जति पढे पनि सम्झना नै हुन्न, पैसा पनि छैन, ऋण निकालेर किताव किनी ट्युशन पढी हाले पनि नाम निस्केन भने कसरी तिरुँला ? क्याम्पस पढ्दा सम्म त घरबाट बाआमाले दुःख गरी, नखाई नलगाई, साहुबाट सापटी मागी पढाए अब फेरी के भनेर पैसा माग्नु ? विचरा बाआमाको पनि त धैर्यताको बाँध टुट्यो, बाआमाले जागिर कहिले लाग्छस भनेर सोध्नु हुन्छ के जवाफ दिउँ ? भाईबहिनी लाई पढाउनु छ, तर आफुले एक सुको कमाउन सकेको छैन ।

पास हुन त बर्षौं पढ्नु पर्छ रे भन्छन नाम निकालेका गाँउले दाई, अब यो ३ वा ४ महिना पढेर त के होला र ? फेल भयो भने घरमा, छरछिमेक वा साथीभाईको माझ कसरी मुख देखाउँला ? त्यो भन्दा त कोरियन भाषा पढेर कोरिया पो जाने हो कि वा अरु जागिर खोज्ने कि ? आदि। विभिन्न सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारणले यस्तै मनोदशामा कतिपय युवायुवती रुमल्लिएका हुन्छन ।

मेरो अनुभव अनुसार विविध कारणले केहीले फर्म नै भर्दैनन, भरेकामध्ये पनि कतिले जाँच दिदैनन, जाँच दिनेहरुमध्ये पनि कतिले मन लगाएर पढेर दिएको हुँदैन, आदि । त्यसैले, यस्ता प्रतियोगितात्मक परीक्षाहरुमा सफल हुनु सजिलो काम हो किनभने वास्तवमा धेरै कम व्यक्तिहरुबीच प्रतिस्पर्धा हुन्छ र तिनीहरुमध्ये पनि कतिपयमा पढने र लेख्ने उचित सीपको अभाव हुन्छ। यो आँधि र तुफानको चरणमा जसले समयमा उचित निर्णय र जोखिम लिई परिस्थितिलाई आफु अनुकुल बनाई, आर्थिक र घरायसी व्यवस्थापन गरी, उच्च मनोवल र रणनीतिका साथ अगाढि बढ्छ, उ विजेता बन्छ। तर, विचरा असफल हुनेहरु भन्छनः लोकसेवा त लकसेवा रहेछ, जुनवेला भाग्यले साथ दिन्छ त्यो वेला आफैं हुन्छ । तर, लोकसेवा कदापि लकसेवा होइन किनकि यो त समयमा गरिएको उचित निर्णय र मिहेनतको प्रतिफल हो ।

हाम्रो समाजमा कुनै काम शुरु गर्नुपूर्व नै असफलताको परिकल्पना गर्ने बानीे र फलानोले म फेल भयो भने के पो भन्ला भनेर दौडमै भाग नलिने चलन छ । मेरो एकजना गोल्डमेडलिस्ट साथीले भन्ने गर्नु हुन्छः दौडमा भाग लिने पो विजेता बन्लान नि, दर्शक त कदापि विजेता बन्न सक्दैनन, त्यसैले पहिला दौडमा भाग लिनु पर्छ । मलाई गुरु उमानाथ शर्माज्यूले पढाउँदा सुनाएको कथा नै मेरो जिन्दगीको दर्शन बनेको छः एकचोटी भ्यागुता र छेपारोको बीचमा रुख चढ्ने दौड प्रतियोगिता भएछ, भ्यागुतालाई त छेपारो संग प्रतिस्पर्धा गर्न कठिन थियो तैपनी साहस गरेर दौडमा भाग लिएछ।

भ्यागुताको पक्षमा समर्थन गर्ने निकै रहेछन र नाराबाजी गरेछन, छेपारो जिन्दावाद, जीत कसको छेपारोको… र भ्यागुता मुर्दाबाद…भ्यागुता हरुवा । त्यही खुशीमा मात्तिएर छेपारो लक्ष्यमा नपुग्दै रुखबाट झरेछ र फेरी चढ्दासम्म त भ्यागुता लक्ष्यमा पुगेर जितिसकेछ । पत्रकारहरुले सोधेछ भ्यागुतालाई : तपाईका विरुद्ध धेरै चर्को नाराबाजी भयो तर तपाई त डराउनु भएन बरु जित्नुभयो, कसरी ? भ्यागुताले जवाफ दियोः मैले कानमा रुवा राखेको थिए, केही पनि सुनेन । त्यसकारण को के भन्छ, त्यो संग केही सरोकार नराखी अविरल कर्म गरे सफल भइन्छ र अंग्रेजी साहित्यका कवि रबर्ट फ्रस्टले भने जस्तैे सानातिनो रमाइलोमा भुल्नु हुँदैन किनकि अझैं मर्नुभन्दा पहिले धेरै माइल यात्रा गर्नु बाँकी छ ।

प्रायः उम्मेदवारहरु आफ्नो बौद्धिकता कम भएको र अरुको बढी भएको भ्रममा रुमलिन्छन र डराउँछन । मानसिकबादी मनोबैज्ञानिकहरु अनुसार कुनै पनि व्यक्तिको दिमाग व्यवहारबादीहरुले भने जस्तो रित्तो गाग्री हुँदैन न त घोकेर सिकाई हुन्छ बरु हरेक व्यक्तिसंग सिर्जनशीलता हुन्छ, तर्क गर्ने, , आन्तरिकिकरण गर्ने र विश्लेषण गरेर समस्या समाधान गर्ने अथाह क्षमता हुन्छ तर हामीले त्यस्ता प्रतिभाको प्रस्फुटन गर्ने अवसर प्रदान गर्नु पर्छ । त्यसकारण, हाम्रोे दिमाग भरिएको पेप्सीको बोतल जस्तै हो जसलाई क्यान ओपनरले खोले मात्र पुग्छ । त्यसैले, सफल व्यक्तिले आशा र सपना बेच्ने व्यापारी भएर पढ्दै गरेका व्यक्तिमा भएको अन्र्तनिहित क्षमतालाई प्रष्फुटन गर्न प्रेरणा दिनुपर्छ ।

२. पढाईको चरण वा अभ्यासको चरण :
यो चरणमा परीक्षाको पाठ्यक्रम हेरी आवश्यक किताबहरु जुटाई पढ्नुपर्छ । मैले ३ खालका पठनसामग्रीको सहयोग लिएको थिएः . सरकारी दस्ताबेजहरुः संविधान, ऐन, कानूनहरु आदि। .एकभन्दा बढी लेखकका सामग्रीहरु (आधिकारिक स्रोत र सन्दर्भ सामग्री उल्लेख गरिएका) . श्रव्य दृश्य सामग्रीः पत्रपत्रिका, रेडियो, फेसबुक, युट्युब, वेभसाइटहरु ।

पढेको, देखेको सबैकुरा सम्झिने हो भने त आझसम्म हाम्रोे दिमाग विष्फोट भइसक्थ्यो । अनावश्यक कुरा विर्षनु त राम्रो कुरा हो । विर्षने कारण छनः काम नलाग्ने विषयवस्तु, रुचिपूर्ण नहुनु, आवश्यक पुनरावृत्ति नहुनु, तनाव, आदि । ताल, नदी आदिको नाम, गहिराई आदि सम्झिनको लागी खाना पकाउने ठाउँमा टाँस्ने, रेकर्ड गरेर सुन्ने, गीत बनाएर गाउने आदि गर्दा विर्सिने सम्भावना निकै कम हुन्छ ।

बहुबौद्धिकताको सिद्धान्तका प्रणेता एवम हार्भड विश्वविद्यालयका प्रा. गार्डनरका अनुसार हरेक व्यक्तिमा एक भन्दा बढी बौद्धिकता हुन्छन जस्तैः गणितीय तथा तार्किक, सांगितिक, भाषिक, अन्र्तबैयक्तिक, शारिरिक वा खेल सम्बन्धी, आदि लगायत ८ प्रकारका । र, केही निश्चित आइ.क्यू. प्रश्नका वा अन्य सीमित परीक्षाको आधारमा कसैको पूर्ण बौद्धिकता मापन गर्न सकिदैन भन्ने तर्क गार्डनर गर्छन । त्यसैले, आफूलाई कमजोर नठानी जसको गणितिय पक्ष राम्रो छ, उसले सुत्र बनाएर पढ्ने, जसलाई गीत गाउन आउँछ, गीत बनाएर पढ्दा फलदायी हुन्छ । सुशासनको अवधारणा किसानसंग अन्र्तक्रिया गरेर, चिया पसलमा गफ गरेर, कार्यालयमा कुनै सेवाग्राहीलाई सोधेर पनि बुझ्न सकिन्छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा भाषणमा भन्दै थिएः मेरा प्रतिद्धन्द्धिहरु गरिबीको परिभाषा खोज्न झुपडीमा गएर विभिन्न कोणबाट फोटो खिच्छन तर म त स्वयं गरिबीसंग मितेरी गाँस्दै हुर्केको व्यक्ति हुँ, मलाई तिनीहरुले गरिबीको के परिभाषा सिकाउलान र ? त्यसैले, सामाजिक न्याय ,गरिबी र बेरोजगारीको पनि परिभाषा घोक्नुपर्छ र नेपालजस्तो मुलुकमा ? हो, केही अनुसन्धान, कानूनी र सरकारी दस्ताबेजले के भनेको रहेछ भनेर एक दुईपटक पढ्नुपर्छ, तर नघोकिकन त्यसलाई वास्तविक संसार संग एकाकार गर्दा बेश हुन्छ । पुराना एक दुई सेट प्रश्न समाधान गरी साथीसंग पृष्ठपोषण लिनुपर्छ र सुधार गर्दै लानुपर्छ ।

स्मरण बढाउनको लागि सिलसिला मिलाएर पढ्नु पनि उत्तिकै आवश्यक हुन्छ । जस्तैः आज पाठ ७ पढ्ने भोली पाठ १ पढ्ने, पर्सी ५ पढ्ने गर्दा दिमागमा तुफान चल्छ । सिकाईका सिद्धान्त अनुसार सरल बाट जटिल, मूर्तबाट अमूर्त, पूर्णबाट अंश गरेर मात्र प्रभावकारी सिकाई हुन्छ । अमेरिकी विद्धान क्र्याशनको इनपुट हाइपोथिसिस पढेपछि म के सुझाव दिन चाहन्छु भने सिकाउनेले पनि सिकारुको अहिलेको ज्ञानको स्तरमा विस्तारै एक तह वृद्धि गर्दै पढाउदै लानु पर्छ , एकै चोटी गाह्रो विषयवस्तु पढाउनु हुँदैन र सिक्ने कोशिष पनि गर्नु हुँदैन ।

जस्तैः जीवनमा कहिल्यै साइकल नचलाएको मान्छेलाई एकैचोटी दुइ हात छोडेर चलाउन सिकाए के हालत होला ? पढ्ने बेलामा परिवारको सहयोग जरुरी छ : व्रतबन्ध, भोज वा अन्य कार्यक्रमहरु परीक्षापछि सार्न सकिन्छ, श्रीमतीले परीक्षा दिने हो भने श्रीमानले खाना पकाईदिने, लुगा धोईदिने, केटाकेटीको हेरचाह गरिदिने, पाहुनाको सेवा सत्कार श्रीमानले गर्दा आकाश खस्दैन बरु भविश्य सुखमय हुन्छ । अविवाहितहरुले पनि धेरैतिर मन नडुलाई धैर्यपूर्वक पढ्दा सफल भइन्छ ।

३. पढाई पश्चातको चरण वा प्रयोगको चरण वा लिखित परीक्षा :
प्रवेश पत्र, कलम, घडी र अन्य आवश्यक सामग्री सहित परीक्षाको दिन उच्च मनोवलका साथ युद्ध मैदानमा समयमा नै पुगी उत्तरपुस्तिकामा नाम, संकेत नम्बर, कि, आदि प्रष्ट लेख्नुपर्छ । प्रश्नपत्र पाएपछि राम्ररी पढेर आफूलाई आउने सजिलो प्रश्नबाट शुरु गर्दै १० नम्बरको भए करीब १८ मिनेट भित्र सक्ने प्रयास गर्ने र वस्तुगतको पनि कुल समय र प्रश्नसंख्याको अनुपात मिलाई हल गर्दा सहज हुन्छ ।

प्रश्न बुझेर सटिक शिर्षक राख्ने, त्यसपछि छोटो भूमिका अन्तर्गत पाठकलाई लोभ्याउने, अझै पढुँ पढुँ लाग्ने जस्ता शब्दावली, महान भनाइहरु, विषयवस्तुसंग सम्बन्धित अवधारणा, आदि लेखेर शुरु गर्दा राम्रो हुन्छ। जसरी हामी कसैसंग किताब माग्नलाई फोन गर्छौं , हेलो भनेपछि पहिलो वाक्यमै किताव दिनु त भन्दैनौ नि, अलिकति भूमिका बाँध्छौ अनि विषयवस्तुमा प्रवेश गर्छौं र अन्तमा लौ है भनेर निष्कर्षका साथ विदा हुन्छौ, त्यसरी नै हाम्रो उत्तर पनि एक प्रकारको संवाद भएकाले भूमिका बाँध्ने, मुख्य विषयवस्तु र निष्कर्ष लेखी बिट मार्नुपर्छ ।

निष्कर्ष लेख्दा खानापछिको जेरी वा डेजर्ट जस्तो लेख्ने जसले मिठास दिन्छ। शिर्षक उपशिर्षकहरुमा अन्डरलाइन गर्ने, प्रष्ट र सफा अक्षर बनाउने, भूमिका र निष्कर्ष बाहेक प्रायः बुँदागत लेख्ने (प्रश्नको प्रकृति हेरी) ।

उत्तरलाई तथ्य, चित्र, उदाहरण, रोचक दृष्टान्त, आदिका माध्यमबाट सपोर्ट गर्नुपर्र्छ। विषयवस्तुको मिहिन विश्लेषण गरी उदाहरण र कानूनि र व्यावहारिक पाटोलाई उल्लेख गरी भविश्यमा के गर्न सकिन्छ त भनी आफ्नो तर्क वा विचार राखेर मैले लेख्ने गर्थे । उत्तर लेख्दा जहिल्यै पनि सकारात्मक, देशभक्तिले ओतप्रोत भएको, नयाँ रक्तसञ्चार र तरङ्ग ल्याउने भावी राष्ट्रसेवकको रुपमा आफ्नो चिनारी दिनुपर्छ मेरो विचारमा किनभने यो परीक्षा हल उम्मेदवारको प्रतिभा, जोस, जाँगर बेच्ने हाटबजार हो ।

तपाईको सकारात्मक सोचले मुलुकले काँचुली फेरोस, सबैलाई शुभेच्छा छ । यो लेख विशेष गरी म परीक्षा पास गर्न सक्दिन, केही आइडिया छैन, कसरी पढ्ने र लेख्ने होला भनेर अलमल्ल परेका, गरीब, निमुखा, राज्यको मूलधारबाट साँच्चिकै बाहिर रहेका, गृहिणी, आदिलाई लक्षित गरी लेखेको हुँ, म पनि एक दिन तपाईहरुकै हालतमा थिए र आज निजामति कर्मचारी भएर राष्ट्रसेवा गर्ने सुनौलो अवसर पाएको छु। हामी सबै समान छौं, सक्षम छौं, यो राष्ट्र सबै जातजाति, भाषभाषि, धर्म, वर्ण, लिङ्गको साझा र रङ्गीन बगैंचा हो, आउनुहोस झिना मसिना लक्ष्मणरेखाहरुबाट माथि उठ्दै हातेमालो गर्दै राष्ट्रनिर्माणमा अगाढि बढौं र एउटै टेवुलमा बसी भातृत्वपनको गीत गाउँ ।

प्रतिक्रिया दिनुहोस्