कर्णाली प्रदेशका १० जिल्लामा विद्युतीय पहुँच कमजोर

काठमाडौँ, ७ पुस । चालू आर्थिक वर्षभित्रै ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने भनिए पनि कर्णाली प्रदेशका १० जिल्लामा अझै विद्युतीय पहुँच कमजोर छ । नेपाल विद्युत् प्राधिकरणमार्फत हालसम्म यो प्रदेशमा २७.२९ प्रतिशत मात्र विद्युतीकरण भएको जनाएको छ ।
प्रदेशभर नेपाल विद्युत् प्राधिकरणका ग्राहक सङ्ख्या ८५ हजार छन् । सबैभन्दा बढी सुर्खेतमा ५८ र कम जाजरकोटमा पाँच प्रतिशत मात्रै विद्युतीकरण भएकोे छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् पहुँचमा सबैभन्दा कमजोर रहेको कर्णाली प्रदेशलाई तीन वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने दाबी गरेको छ ।
कर्णालीमा विद्युत् विस्तारका लागि चालू आर्थिक वर्ष ९२०७६/७७०मा एक अर्ब १९ करोड रुपियाँ विनियोजन गरिएको छ ।
कर्णाली प्रदेशमा विद्युतीकरणका लागि ३३ र ११ केभीका १२ वटा आयोजना सञ्चालित छन् भने सातवटा ३३/११ केभीका सबस्टेसन निर्माणका लागि ठेक्का आह्वान गर्ने प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोटमा राष्ट्रिय प्रसारण प्रणालीमार्फत (ग्रिड) र कालीकोट, हुम्ला, मुगु, डोल्पा र जुम्लामा लघुजलविद्युत् (माइक्रोहाइड्रो) मार्फत विद्युत् आपूर्ति गरिरहेको छ ।
बाँकेको कोहलपुर र दाङको तुलसीपुरबाट यस प्रदेशमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन लगिएको छ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन र सुर्खेतमा १३२/३३/११ केभी सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढेको प्राधिकरणले जनाएको छ ।
सरकारले तीन वर्षभित्र शतप्रतिशत विद्युतीकरण गर्ने र पाँच वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत सात सय युनिट पुर्याउने घोषणा समेत गरेको छ ।
