Logo

व्यवसायीको तालाबन्दीले सेवाग्राही मारमा



धनकुटा, १० पुस । धनकुटामा सरकारी कार्यालयसहित अन्य ३ वटा कार्यालय अनिश्चितकालीन तालाबन्दी भएको १५ दिनसम्म सरोकारवाला पक्ष मौन बस्दा सेवाग्राही मारमा परेका छन् । गत मङ्सिर २३ गते तालाबन्दी भएको र त्यसको १५ दिन बितिसक्दा पनि ताला खुल्न नसक्दा अन्योल र जटिलता भएको छ।

वाणिज्‍य संघको निर्वाचनतालिका प्रकाशित भई निर्वाचन कार्यक्रम अगाडि बढीरहेको अवस्थामा धनकुटा उद्योग वाणिज्य संघको निर्वाचनमा नयाँ सदस्य पुन खुल्ला गर्नुपर्ने माग राख्दै केही व्यवसायीले तालाबन्दी गरेका हुन्।

तालतबन्दीको कारण युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयद्धारा सञ्चालित प्रमुख जिल्ला अधिकारी अध्यक्ष भएको जिल्ला संयोजन तथा अनुगमन समितिको कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंको समन्वयमा सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको कार्यालय र धनकुटा उद्योग वाणिज्य संघको कार्यालय गत मङ्सिर २३ गतेदेखि बन्द भएका छन् ।

तालाबन्दीका कारण युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयद्धारा सञ्चालित जिल्ला संयोजन तथा अनुगमन समितिमा युवा स्वरोजगारको कर्जा सम्झौता हुन सकेको छैन । कर्जा युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयद्धारा सञ्चालित जिल्ला संयोजन तथा अनुगमन समितिमा सम्झौता गरेर जिल्लाका विभिन्न सहाकारीले वितरण गर्दै आएका छन् ।

यस्तै, तालाबन्दीको कारणले समृद्धि आयोजनाले यहि डिसेम्बरभित्रमा कृषि उत्पादनसँग सम्बन्धित क्रियाकलाप गर्ने कृषि समूहलाई १४ लाखसम्मको आधुनिक मेसिन औजार अनुदानको काम प्रभावित भएको छ ।

तालाबन्दीका कारण डाँडागाउँ तरकारी कृषक समूह शहीदभूमि गाउँपालिका–३, महालक्ष्मी नगरपालिका वडा नं. ८ को आदर्श कृषि दुग्ध उत्पादक समूह र महालक्ष्मी–९ को देउराली दुग्ध उत्पादक समूहको सम्पूर्ण कागजपत्र थुनिएकोले उनीहरूले पाउने अनुदान प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्