गुठी जग्गा अधिग्रहणमा घोटाला
काठमाडौं, २१ पौष । नेपाली सेनाले अधिग्रहण गरेको गुठीको स्वामित्वमा जग्गामा नक्कली मोही कायम गरी भ्रष्टाचार भएको तथ्य खुलेको छ । गुठी संस्थानका कर्मचारीको मिलोमतोमा किर्ते मोही कायम गरेर मुआब्जा वितरण गरिएको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको हो ।
अख्तियारका अनुसार संस्थान शाखा जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेसहित ६ जनाले घुस लिएर मुआब्जा रकम वितरण गरेको थिए । यसरी घुस लिएर मुब्आजा वितरण गर्ने ६ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । पाण्डेले विचौलियामार्फत १९ लाख ३० हजार घुस लिएको अख्तियारको दाबी छ । उनलाई चार वर्षसम्मको कैद सजाय र बिगो रकम असुल गरी जफतको माग दाबी गरिएको छ ।
गुठी जनकपुरका तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यले मुआब्जा रकम भुक्तानी गरेवापत ६ लाख ५० हजार घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ । उनीविरुद्ध २ वर्ष ६ महिनासम्म कैद सजायको मागसहित बिगो रकम असुल गरी जफत हुन मागदाबी लिइएको छ ।
प्रतिवादी गुठीका तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले मोही भनिएका व्यक्तिबाट लिएको रकम ४ लाख ३० हजार घुस लिएका थिए । एक वर्ष ६ महिना कैद र बिगो जफतको माग गरिएको छ । बिचौलिया सुमनकान्त ठाकुरलाई प्रतिवादी बनाइएको छ । उनले मोहीबाट पटक पटक गरी ६३ लाख ३६ हजार ६ सय ६७ रुपैयाँ लिएका थिए । ठाकुरले मुआब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरी मोहीलाई दबाबमा पारी कर्मचारीलाई प्रलोभनमा घुस लिएदिएको तथ्य स–प्रमाण पुष्टि हुन आएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरुविरुद्ध ६३ लाख ३६ हजार ६ सय ६७ बिगो कायम गरिएको छ ।
विचौलिया ठाकुरलाई ८ वर्षसम्मको कैद सजायको माग गरिएको छ। प्रतिवादी मोही भनिएकी गायत्रीदेवी जयसवालका छोरा शत्रुधनलाई प्रतिवादी बनाइएको छ । २०६९ असार २७ गते गुठी संस्थानमा मुआब्जावापतको १२ लाख ८१ हजार ६ सय ६७ रुपैयाँमध्ये १२ लाख ५० हजार शत्रुधनले लिएका थिए । आफूले लिएको रकममध्ये शत्रुधनले ७ लाख ३५ हजार रकम विचौलिया सुमनकान्तलाई दिएको अख्तियारले जनाएको छ । उनीविरुद्ध ७ लाख ३५ हजार बिगो तोकिएको छ ।
गुठीका कर्मचारीको मिलोमतोमा शत्रुधनले विचौलियाको भूमिका निर्वाह गरी घुस लिनेदिने गरेको पुष्टि भएको छ । उनीविरुद्ध २ वर्ष ६ महिना कैद तथा बिगो रकम जफतको मागदाबी गरिएको छ । गायत्रीविरुद्ध ५६ लाख १ हजार ६ सय ६७ रुपैयाँ बिगो कायम गरी आठ वर्षसम्मको कैद सजायको माग दाबीसहित अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
