Logo

सार्वजनिक संस्थान कति बेचिए, कतिमा बेचिए ?



काठमाडाौं, १९ मंसिर । ०४९ बाट सार्वजनिक संस्थानहरूको निजीकरण सुरु गरिएकोमा अहिलेसम्म १७ संस्थान बिक्री गरिएका छन् । ५ मंसिर ०४९ मा भृकुटी कागज कारखानाको व्यवसाय र सम्पत्ति बिक्री गरी निजीकरण सुरु गरिएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

त्यसमध्ये सरकारले कतिपय संस्थानको व्यवसाय र सम्पत्ति दुवै बिक्री गरेको छ । कतिपय संस्थानको सेयर बिक्री गरेको छ भने कतिपय संस्थानको सम्पत्ति बिक्री र भाडामा समेत लगाएको छ ।

यसरी डेढ दर्जन संस्थान निजीकरण गर्दा सरकारले केबल ६ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ हात पारेको थियो । त्यसमध्ये सर्वाधिक रकममा निजीकरण भएको नेपाल दूरसञ्चार कम्पनी हो । ७ पुस ०६४ मा ८.५६ प्रतिशत सेयर बिक्री गर्दा सेयरको मूल्य ४ अर्ब २६ करोड ४१ लाख रुपैयाँमा बिक्री भएको थियो ।

टेलिकमको अल्पमत सेयर सर्वसाधारण र कर्मचारीलगायतलाई बिक्री गरिएको थियो । टेलिकमबाहेकका संस्थान निजीकरण गर्दा सरकारले जम्मा २ अर्ब २८ करोड १४ लाख रुपैयाँ मात्रै हात पारेको थियो ।

सरकारले त्यसवेला उत्पादनमूलक संस्थानहरू बिक्री गरे पनि त्यसबाट भएको आम्दानी भने कुनै उत्पादनको क्षेत्रमा लगानी गरेन ।

अर्थ मन्त्रालयका अनुसार यसरी निजीकरण गरी बेचिएका संस्थानबाट प्राप्त रकम राजस्वसरह सरकारी कोषमा दाखिला गरियो । र, बजेटमार्फत साधारण हिसाबले खर्च गरियो । अर्थात् संस्थानको निजीकरणबाट प्राप्त आम्दानी बिलाएर गयो ।

प्रतिक्रिया दिनुहोस्