शैक्षिक गुणस्तर सुधार्न मन्टेस्वरी चलाउँदै नगरपालिका
सिन्धुपाल्चोक, २२ पुस । शैक्षिक गुणस्तर सुधार्न भन्दै बाह्रबिसे नगरपालिकाले मन्टेस्वरी विधिबाट पठनपाठन सुरु गर्ने भएको छ। नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको तल्ला कक्षाका बालबालिकालाई मन्टेस्वरी विधिबाट पढाउने तयारी थालेको हो ।
पहिलो वर्ष नगरभित्रका ४९ मध्ये १३ सामुदायिक विद्यालयमा मन्टेस्वरी कक्षा सुरु गर्न लागिएको छ । नगरपालिकाका अनुसार मन्टेस्वरी कक्षा सञ्चालनका लागि जनशक्ति उत्पादन गर्ने काम भइरहेको छ भने विद्यालयमा सोही अनुसारको वातावरण अनुकूल कक्षा व्यवस्थापन थालिएको छ ।
नगरपालिकाले ३९ शिक्षिकालाई एक सातादेखि मन्टेस्वरी तालिम दिइरहेको छ। यसका लागि २६ शिक्षिका नयाँ नियुक्त गरिएको छ । १३ शिक्षिका भने बालविकास केन्द्रका सहजकर्ता हुन् । उनीहरूलाई एक महिने तालिम व्यवस्था समेत गरिएको छ ।
खुला प्रतिस्पर्धाबाट छनोट गरी तालिम लिइरहेका शिक्षिकाका लागि विद्यालयसमेत तोकिसकिएको छ। तालिमपछि सकिने बित्तिकै उनीहरूले परीक्षणका रूपमा मन्टेस्वरी कक्षा सञ्चालनमा ल्याउनेछन्। आगामी वैशाखदेखि भने पूर्ण रूपमा मन्टेस्वरी कक्षा सञ्चालनउनका अनुसार क्रमशः नगरका सबै विद्यालयमा मन्टेस्वरी कक्षा विस्तार गर्दै लैजाने नीति लिइएको छ ।
मन्टेस्वरी कक्षा सञ्चालनका लागि नगरले पहिलो एक वर्षमा ३ करोड रुपैयाँ खर्चंदै छ। शिक्षिकाको तलबभत्ता, कक्षा व्यवस्थापन गर्ने नगरको तयारी छ। नगरले गत वर्ष शैक्षिक सम्मेलन गरेको थियो । सम्मेलनपछि विज्ञहरूको सुझावलाई समेट्दै आवश्यक शिक्षा नीति र कानुन बनाएर मन्टेस्वरी कक्षा सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।
कक्षा व्यवस्थापनमा राजधानीको वैशाली एजुकेसनका १५ जना खटिइरहेका छन् । वैशालीकी संस्थापक प्रधानाध्यापिका सुस्मा लामाले सहभागीलाई तालिम दिइरहेकी छिन् । ३५ वर्षदेखि शिक्षण पेसामा आबद्ध उनी मन्टेस्वरीविज्ञ मानिन्छिन् । मन्टेस्वरी कक्षामा साढे दुई वर्षदेखिका बालबालिका राखेर पढाउने नगरको तयारी छ । मन्टेस्वरी जनशक्ति उत्पादन गर्न नगरले खुला आवेदन मागेको थियो । यसमा दुई सय ११ को आवेदन परेको थियो । प्रतिस्पर्धाको आधारमा २६ जना शिक्षिका छानिएको थियो । उनीहरूलाई नगरले १५ हजार रुपैयाँसम्म मासिक पारिश्रमिक तोकेको छ ।
