Logo

भाडामा बस्ने विदेशी नागरिकको विवरण अनिवार्य



काठमाडौं, २२ पुस । काठमाडौं उपत्यकालगायत देशका मुख्यमुख्य सहरमा घर भाडामा लिएर बस्ने विदेशी नागरिकबारेको विवरण नजिकको प्रहरी कार्यालयमा पेस गर्नुपर्ने भएको छ । गृह मन्त्रालयले चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थ भण्डारण र प्रयोग गरी विध्वंसात्मक एवं अराजक गतिविधिका घटनामा विदेशी नागरिक संलग्न हुने गरेको ठहरसहित यस्तो व्यवस्था गर्न लागेको हो ।

एक साताअघि मन्त्रालयमा आयोजित सुरक्षा निकायको बैठकमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले विदेशी नागरिकलाई घर भाडामा दिँदा घरधनी वा भाडावालमध्ये एकले प्रहरीलाई विवरण दिनुपर्ने प्रस्ताव राखेका थिए । सो प्रस्ताव गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखले स्वीकार गरेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

पछिल्लो समय नेपाल आएका थुप्रै विदेशी अपराध कर्ममा संलग्न भएको भेटेपछि गृह मन्त्रालयले भाडामा बस्ने विदेशी नागरिकबारेको पूर्ण विवरण प्रहरी कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ । अपराधजन्य क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पार्ने भएकाले विदेशी नागरिकको हकमा यस्तो व्यवस्था गरेको हो । विदेशी नापाल आएर अपराध कर्ममा संलग्न भएको पाइएकाले पनि यस्तो निर्णय गर्नुपरेको उनले बताए ।

गृह मन्त्रालयले गतिविधि अनुगमन गर्न नसक्दा नेपालमा बसिरहेका विदेशी नागरिकले प्रवेशाज्ञा भिसाको दुरुपयोग गरेको पाइएको छ। एक सय चिनियाँ नागरिक पक्राउ परेपछि त्यसको पुष्टिसमेत भयो। घर भाडामा लिनेको विवरण संकलनपछि नेपालमा बसिरहेका विदेशीको अनुगमन गर्न समेत सजिलो हुने अनुसन्धान विभागको दाबी छ ।

स्रोतका अनुसार कतिपय भिसाको म्याद सकिएपछि पनि यहीं बसिरहेका (ओभर स्टे) छन् ।

करिब ३ वर्षअघि पर्यटक भिसामा नेपाल आएका ५४ जना उत्तर कोरियाली सुरुङ खनिरहेको अवस्थामा भेटिएपछि तत्कालीन गृहमन्त्री वामदेव गौतमले उनीहरूलाई निष्कासनको निर्णय गरेका थिए । पछिल्लो पटक पर्यटक र नातेदारको भिसामा नेपालमा बसेका विदेशीले गैरकानुनी रूपमा काम गरेको सूचना आएको भन्दै अध्यागमन विभागले त्यस्तो पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्