सार्वजनिक गाडीमा गीत बजाउन नपाइने
काठमाडौं, २३ पुस । सार्वजनिक यातायातका साधनमा अब गीत बजाउन नपाइने भएको छ । सार्वजनिक गाडीमा गीतकै कारणले दुर्घटना बढ्दै गएको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचना मार्फत म्युजिक सिस्टम नराख्न निर्देशन दिएको हो ।
सवारीसाधनको क्याविनमा सजाइएका सामान र म्युजिक सिस्टम नराख्न विभागले निर्देशन दिएको छ । म्युजिकमा चालकको ध्यान जाँदा गाडी दुर्घटना हुने गरेको विभिन्न अध्यायनले देखाएकाले म्युजिक सिस्टम नराख्न निर्देशन दिएको यातायात व्यवस्था विभागकाले जनाएको छ ।
विभागका अनुसार गाडीमा राखिएका सजावटका सामग्रीले चालकको ध्यान अन्यत्र पुर्याउने अध्यायनबाट देखिएकाले यस्तो नियम ल्याउनु परेको हो । सार्वजनिक गाडीमा अनावश्यक फोटो, स्टिकर नटाँस्न र साहित्य नलेख्न पनि विभागले निर्देशन गरेको छ ।
यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित यातायात समितिका कार्यालय र ट्राफिक प्रहरीलाई पत्राचार गरिसकेको छ । विभागको निर्देशन कार्यान्वयन नगर्ने गाडी चालकलाई सवारी जाँचपास समेत दिइने छैन ।
