चिसोसँगै ह्वात्तै बढ्यो विद्युत् माग
काठमाडौं, २३ पुस । राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ । माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप जटिलता समेत पैदा भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेको पाँचखालसम्मको मागमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ ।
विद्युत् उच्च माग भएको गत लक्ष्मीपूजाको दिन एक हजार ८९ मेगावाट मात्रै पुगेको थियो । जाडोका कारण देशव्यापीरुपमा नै विद्युत् माग बढेर एक हजार ३५२ मेगावाट पुगेको छ । लक्ष्मीपूजाको दिन सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको उच्च माग ३३१ मेगावाट मापन गरिएको थियो । जाडो बढ्दा माग ११९ मेगावाटले वृद्धि भएको छ ।
एक्कासि विद्युत् माग बढ्दा सवस्टेशन तथा ग्रीडहरुमा समेत जटिलता देखिएको छ । यस्तै प्रसारण तथा वितरण प्रणालीमा पनि ‘ओभर लोड’ देखिएको छ । जाडोका कारण हरेक घर, कोठा कोठामा न्यायो बनाउने हिटर तथा एसीजस्ता उपकरण चलेका कारण पनि विद्युत् माग ह्वात्तै बढेको छ । प्राधिकरणले औसतमा विद्युत् माग ३५० मेगावाटको हाराहारीमा हुने अनुमान गरेको थियो तर अनुमान गरेभन्दा झण्डै १०० मेगावाट बढी माग प्रणालीमा देखिएको छ ।
प्राधिकरणले ओभरलोड भएका फिडरमा त्यस्तो लोड घटाउन बढी क्षमता भएका ट्रान्सफर्मर जडानलाई समेत निरन्तरता दिएको छ । यस्तै वितरण प्रणालीमा देखिने समस्या समाधानका लागि २४ सैँ घण्टा परिचालित हुने गरी प्राविधिकसहितको जनशक्ति परिचालन गरिएको छ ।
प्राधिकरणले माग जति बढे पनि पुग्दो विद्युत् उपलब्ध गराउन कुनै समस्या नरहेको उल्लेख गर्दै आएको छ । माग बढे पनि पुरानो प्रणालीका कारण ती स्थानमा ओभरलोडको समस्या भने देखिएको प्राधिकरणले स्वीकार गरेको छ ।
