Logo

‘समाचार लेखेको देख्दा राजीनामा दिउँ जस्तो लाग्छ’ -सञ्चारमन्त्री बाँस्कोटा



काठमाडौं, २३ पुस । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले समाचार लेखेको देख्दा आफूलाई कहिले त राजीनामा दिउँ जस्तो लाग्ने गरेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् । बाँस्कोटाले पत्रकारको हकहित भन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने पनि बताएका छन् ।

उनले हावादारी समाचार नलेख्न पत्रकारहरुलाई सुझाव दिदै कमिसन पत्रकारिता छाडेर व्यवसायिक बन्न पनि उनले पत्रकारहरुलाई सुझाए । उनले फरक प्रसंगमा आफू मन्त्री बनेपछि कमिसन दिन आउनेहरूको नामसहित लेखनमा पनि आफू सक्रिय रहेको बताए । मन्त्रि बाँस्कोटाले ५ करोड ३४ लाख पत्रकारिता वृद्धि विकास कोषमा राखिदिएको र आगामी दिनमा १० करोड रूपैयाँ पुर्याउने मन्त्री बाँस्कोटाको भनाइ थियो ।

म सधैं पदमा रहन्न । पदको घमण्ड पनि छैन । भोलि फेरि चप्पल प्याट प्याट पड्काएर पत्रकारकै साथमा हुन्छु । नेगेटिभ कुरा मात्र नलेखौ पोजेटिभ समाचार पनि खोजी खोजी लेखौं, बाँस्कोटाले भने ।

स्थापना दिवसको अवसर पारेर स्थानीय पत्रकार अमर भुजुलाई मैयादेवी पुरस्कार, ध्रुव मधिकर्मीलाई स्वर्गीय भगवान महर्जन स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्