Logo

विभिन्न देशमा भ्रमण वर्षको प्रवर्द्धन



काठमाण्डौ, २३ पुस । विश्वका विभिन्न देशमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी प्रवर्द्धनात्क कार्यक्रम आयोजना गरिएका छन् ।

चीनको राजधानी बेइजिङ, कतारको दोहा, दक्षिण अफ्रिकाको प्रिटोरिया, क्यानाडाको ओटावा, फ्रान्सको पेरिस र इजिप्टको कायरोमा त्यहाँ रहेका नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने विविध प्रवर्द्धनात्मक कार्यक्रमहरु आयोजना गरिएका हुन् ।

कार्यक्रमका क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व शान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थलको अवलोकनका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं भाषिक विविधताको देश नेपालको जीवनकालमा एकपटक भ्रमण गर्न नेपालका कूटनीतिक अधिकारीले आह्वान गरेका थिए ।

कायरोमा रहेको नेपाली दूतावासले हालै सगरमाथाको सफल आरोहण गरेर फर्किएका त्यहाँका नागरिकलाई कार्यक्रममा आमन्त्रण गरेर नेपालको पर्यटनका विविध आयाम र उत्पादनबारे जानकारी गराएको थियो । साथै दूतावासले नेपाल भ्रमण गर्न चाहने इजिप्टका नागरिकहरूका निम्ति बेग्लै सेवाकक्ष स्थापना गरेर सेवा प्रवाह थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्