मोबाइल ब्यालेन्सबाटै १० हजार सम्मको अनलाइन कारोबार गर्न सकिने
काठमाडौं, २४ पस । मोबाइल ब्यालेन्सबाटै वस्तु तथा सेवाहरू खरिद गर्न मिल्ने भएको छ । नेपाल दूर सञ्चार प्राधिकरणले विद्युतीय सेवा सञ्चालन तथा नियमन कार्यविधि तयार पारेर कार्यान्वयनमा ल्याएसंगै यस्तो सुविधा आएको हो ।
कार्यविधिले मोबाइलमा रहेको ब्यालेन्स रकम प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्न कानुनी रूपमै बाटो खुलेको हो । प्राधिकरणका अनुसार एक पटकमा एक हजार र मासिक १० हजार रूपैयाँ सम्मको अनलाइन कारोबार गर्न मिल्नेछ । दूरसञ्चार सेवाप्रदायकले पछिल्लो समय मोबाइल ब्यालेन्समार्फत पीआरबीटी र टेलिभिजन लगायतका सेवा सञ्चालन गर्दै आएका थिए । हाल विभिन्न भ्यालु एडेड सर्भिस (भ्यास) सेवा रहेका छन् ।
कार्यविधिले अनलाइन वस्तु खरिदलाई समेत व्यवस्थापन गर्नेछ । हाल टेलिकम कम्पनीले सञ्चालन गरिरहेका प्याकेजमा लागू भएपनि भविष्यमा मोबाइल नम्बर वा त्यसमा भएको ब्यालेन्सबाट खरिद तथा भुक्तानी गर्ने सेवाको समेत बाटो खुलेको छ। कार्यविधिसँगै दूर सञ्चार कम्पनीले खानेपानी, बिजुली, इन्टरनेट र कर समेत मोबाइल ब्यालेन्सबाट तिर्नसक्ने व्यवस्था गर्नेछन् ।
नेपाल टेलिकम, एनसेल र स्मार्ट लगायत कम्पनीले मोबाइल मनी सेवा सञ्चालनमा ल्याएमा त्यसलाई समेत कार्यविधिले समेट्छ । हाल चल्तीमा रहेका इ–सेवा, खल्ती र फोन-पेजस्ता भुक्तानी सेवा प्रदायकहरूबाट जस्तै सामान खरिद गर्न सकिने तर खरिदमा दूर सञ्चार सेवा शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
यसका लागि प्राधिकरणले बिलिङ सिस्टम अनिवार्य गरेर यो सेवालाई व्यवस्थित गर्ने छ। विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्दा भुक्तानीको बिल र विवरण ग्राहकलाई अनिवार्य उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
