Logo

साना सवारीमा यात्रु उभ्याए जरिवाना



काठमाडौं, २४ पुस । राजधानीका साना सार्वजनिक सवारीसाधनमा यात्रुलाई उभ्याएर यात्रा गराए जरिवाना लाग्ने भएको छ। माइक्रो र ट्याम्पो लगायतका सवारीसाधनमा यात्रु उभ्याए जरिवाना गरिने भएको हो ।

यातायात व्यवस्था विभागका अनुसार कम सिट क्षमता भएका साना सवारीसाधनमा एकजना पनि यात्रु उभ्याउन पाइनेछैन । उभ्याएको पाइए अब ट्राफिक प्रहरीले जरिवाना गर्नेछ । यसअघि यात्रु उभ्याउन नपाइने भनिएको भएपनि प्रावधान कार्यान्वयनमा ल्याइएको थिएन । तर अब कडाइका साथ कार्यान्वयनमा ल्याइने भएको हो ।

विभागले ३२ सिटभन्दा माथिका बसहरूमा पनि सीमित संख्यामा मात्रै यात्रु उभ्याउन पाउने नीति तर्जुमा गर्न लागेको छ। यसका लागि विज्ञ, यातायात व्यवसायी र ट्राफिक प्रहरी सहितको समिति बनाएर अध्ययन गर्ने तयारी भएको हमालले जानकारी दिए। समितिले अध्ययन गरेर रिपोर्ट दिनेछ । रिपोर्टका आधारमा कति यात्रु उभ्याउन दिने भन्ने निर्णय गरिने छ।

सिट संख्या, बसको लम्बाइ, चौडाइ, दायाँ र बायाँ बीचको सिटको स्पेस लगायतका विषयहरू हेरिनेछ। सोही आधारमा विभागले उभ्याउन पाउने यात्रु संख्या बराबरको गोटी दिनेछ । गोटी टिकट जस्तै केही हुनेछ । सहचालकले सिट फुल भएपछि गोटी दिने छ। गोटी सकिएपछि यात्रु चढाउन पाइने छैन । सिटमा बस्ने वा गोटी लिने यात्रु झरेको संख्या अनुपातमा मात्रै यात्रु चढाउने पाइने छ । त्यसरी चढाएको पाइए १५ सयसम्म जरिवाना गरिने महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। लामो दुरीमा कुनै पनि सवारीसाधनमा यात्रु उभ्याउन पाइदैन ।

विभागका अनुसार अहिले साना सवारीसाधन धेरै हुँदा उपत्यकामा जामको समस्या छ । तर, सार्वजनिक यातायात प्रयोग गर्नेहरूका लागि पर्याप्त संख्यामा सवारी छैनन्। विहान बेलुकी पीक आवर भने सार्वजनिक सवारीसाधनमा यात्रुहरू खचाखच हुन्छन् । अहिले उपत्यकामा ३२ सिटभन्दा साना सवारीसाधन दर्ता नै रोकेको छ ।

त्यसैगरि तत्कालीन काठमाडौं उपत्यका दिगो सहरी यातायात आयोजनाले ए, बी र सी ग्रेड गरि तीन तहका ६४ वटा रुट पहिचान गरेको थियो । १० मिटरभन्दा चौडा र दैनिक एक लाखैन्दा बढी यात्रु आवातजावत गर्ने रुटलाई एु, ६ देखि १० मिटरसम्म चौडाइ र ५० हजारदेखि एक लाखसम्म यात्रुहरू आवतजावत गर्ने रुटलाई बी मा र ६ मिटरभन्दा साना रुटलाई सी मा वर्गीकरण गरेको थियो ।

सार्वजनिक यातायतका रूपमा हाल सञ्चालनमा रहेका साना सवारीमा ग्यासबाट चल्ने नीलो माइक्रो, विद्युतीय ट्याम्पो र सेतो माइक्रो छन्। जसमा कोचिएर यात्रुहरू यात्रा गरिरहेका हुन्छन्। सीट क्षमताभन्दा बढि यात्रु चढाए ट्राफिक प्रहरीले जाँच गरि जरिवाना गर्ने नीति यातायात व्यवस्था विभागले ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्