Logo

विद्युत् महसुल विवाद समाधान गर्न उच्चस्तरीय समिति गठन



काठमाडौं, २५ पुस । नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादको समाधानका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ ।

विद्युतभार कटौतीको समयमा उद्योगी व्यवसायीले ट्रङ्क र डेडिकेटेड लाइनमार्फत लिएको महसुल मात्रै गत चैतसम्म कूल ११ अर्ब रहेको थियो । हालसम्म त्यो महसुल बढेर १४ अर्बको हाराहारीमा पुगेको छ । उद्योगीको तर्क छ, प्राधिकरणले हामीलाई पेल्न खोज्यो र जबरजस्ती महसुल उठाउन खोज्यो । प्राधिकरणको भनाइ छ, छुट महसुल उठाउन नियामवलीले नै दिएको छ ।

उच्च अदालतले अदालत गएका कूल २६ व्यवसायीमध्ये २१ वटालाई प्राधिकरणले तय गरेको महसुल तिर्न आदेश समेत दिइसकेको छ । वीरगञ्ज उच्च अदालतमा विचाराधिन १० मध्ये अझै पाँच मुद्दाको मात्रै फैसला हुन बाँकी छ । सरकारले ट्रङ्क तथा डेडिकेटेड फिडरबाट आपूर्ति भइरहेका सम्बन्धित पक्षको विवाद समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र अर्थमन्त्री डा।युवराज खतिवडाको समन्वय हुने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवको संयोजकत्वमा आवश्यक अध्ययन गरी १५ दिनभित्र सुझाव दिन समिति गठन गरेको छ ।

समितिले आवश्यकताका आधारमा उपसमिति वा कार्यदल समेत गठन गरी कार्यसम्पादन गर्न सक्ने व्यवस्था गरिएको छ । प्राधिकरणले तय गरेको महसुल तिर्न नसक्ने भन्दै उद्योगीले आपत्ति प्रकट गर्दै आएका छन् । उनीहरूले समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टको ध्यानाकर्षण गराएका थिए ।

प्राधिकरणका अनुसार २०७५ चैत मसान्तसम्ममा २३९ ग्राहकले डेडिकेटेड र ६९ ग्राहकले ट्रङ्क लाइनमार्फत बिजुलीको अतिरिक्त सुविधा लिएका थिए । त्यसमा डेडिकेटेडभन्दा ट्रङ्क लाइनको बढी समस्या छ । केही समयपहिले प्राधिकरणले डेडिकेटेड र ट्रङक लाइनमा लाग्दै आएको बढी शुल्क हटाउने निर्णय गरिसकेको छ ।

विद्युतभार कटौती हुँदा २०७२ असारदेखि नै उद्योगलाई बढी महसुल लिएर विद्युत् दिइएको थियो । घरायसी ग्राहकलाई कटौती गरी उद्योगलाई ३१५ मेगावाट विद्युत् दिइएको थियो । नियमिततर्फको महसुल उठेपनि डेडिकेटेड र ट्रङ्क लाइनको थप महसुल उठेको थिएन । गत चैतसम्म ११ अर्ब रहेको सो महसुल बढेर १४ अर्ब पुगेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणको कूल सञ्चित १५ अर्ब घाटाकै आसपासकै महसुल नै उठाउन बाँकी रहेको र त्यसमा किन ढिलाइ भएको लगायतका विषयमा संसद्को सार्वजनिक लेखा समितिले पनि छानबिन गरिरहेको छ । सरकारको पछिल्लो निर्णयले महसुल सम्बन्धी विवाद समाधान हुने विश्वस गरिएको छ ।

लेखा समितिले गठन गरेको उपसमितिले तयार पारेको प्रतिवेदनमा महसुल उठाउने सम्बन्धमा आवश्यक कागजात नराखेको तथा राजश्व सम्बन्धी गम्भीर विषयमा लापरवाही भएको पाइएको उल्लेख गरेको छ । प्रतिवेदनमाथि छलफल हुन भने बाँकी नै छ ।

प्रतिवेदनमा ‘२०७३ असार १६ गते विद्युत् महसुल निर्धारण आयोगले विद्युतभार कटौती ६ घण्टा वा सोभन्दा बढी कायम रहेको अवस्थामा २० घण्टा वा सोभन्दा बढी समय छुट्टै ट्रङ्क लाइनबाट निरन्तर विद्युत् आपूर्ति लिने ग्राहकले डेडिकेटेड ग्राहकको सरह महसुल दर कायम गर्ने निर्णय कार्यान्वयन नगरी आवश्यक प्रमाण र अभिलेख नराखेको पाइएको’ जनाएको थियो ।

प्राधिकरणको ‘महसुल सङ्कलन विनियमावली २०७३’ अनुसार कुनै छुट बिल जारी भएपछि ३५ दिनभित्र ग्राहकले उक्त महसुल बुझाउनुपर्ने वा चित्त नबुझेमा पुनरावलोकन गर्न सकिने र मिटर रिडिङ भएको ६० दिनभित्र ग्राहकले विद्युत् महसुल नबुझाएमा उक्त ग्राहकको लाइन काटी बक्यौता असुलउपर गर्नुपर्नेछ । सोही व्यवस्थाका आधारमा प्राधिकरणले छुट महसुल उठाउन खोज्दा उद्योगीले आपत्ति जनाएका हुन् ।

प्राधिकरण सञ्चालक समितिले २०७२ असार १२ गतेको निर्णयअनुसार २०७२ साउनदेखि विद्युत् खपतमा नयाँ महसुल दर कायम गरेको थियो । सो निर्णयको अनुमोदन विद्युत् महसुल निर्धारण आयोगले २०७३ असार १६ गते निर्णय गरी डेडिकेटेड र ट्रङ्क लाइन लिएका ग्राहकलाई डेडिकेटेड लाइनसरह नै शुल्क लिन सिफारिस गरेको थियो ।

प्राधिकरणले यसअघि नै डेडिकेटेड र ट्रङ्क लाइनका ग्राहकहरूलाई कूल ३२ अर्ब ४५ करोड ८० लाख ९७ हजार ९०९ बराबरको महसुल भुक्तानी गर्न बिल पठाएको थियो । जसमध्ये २३ अर्ब ५५ करोड ७६ लाख ४४ हजार ५३२ भुक्तानी भएको र रु नौ अर्ब नौ करोड ४० लाख ४६ हजार ६४१ भुक्तानी हुन बाँकी थियो ।

प्राधिकरणका तत्कालीन आठ क्षेत्रीय कार्यालयमध्ये बुटवलबाट २८, हेटौँडा ११, पोखरा नौ, अत्तरिया आठ, विराटनगर पाँच, जनकुपर र काठमाडौँ तीन/तीन तथा नेपालगञ्जका दुई दुई ग्राहकले ट्रङ्क लाइनको सुविधा लिएका थिए । प्राधिकरणको प्रदेश नं १ कार्यालय विराटनगरका विभिन्न सबस्टेशनमार्फत ट्रङ्क लाइनको सुविधा लिएका उद्योगले रु २७ करोड २४ लाख दुई हजार ४२७ बराबर महसुल तिर्न बाँकी छ । प्राधिकरण सञ्चालक समितिका सदस्य भक्तबहादुर पुन संयोजकत्वको समितिले डेडिकेटेड र ट्रङ्क लाइनको विषयमा आन्तरिक रूपमा नै अध्ययन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्