Logo

आज राति पेनम्ब्रलु चन्द्रग्रहण



काठमाण्डौ, २५ पुस । शुक्रबार राति चन्द्रग्रहण लाग्दैछ । राति १० बजेर ५२ मिनेटमा सुरु भएर १२ बजेर ५५ मिनेटमा मध्य हुने र राति २ बजेर ५७ मिनेटमा सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जानकारी दिएका छन् ।

यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रलु चन्द्रग्रहण हो । यो ग्रहणको बेलाका तस्बिरको वैज्ञानिक परीक्षण गर्न वैज्ञानिकका लागि महत्पूर्ण हुने खगोलशास्त्रीहरु बताउँछन् । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा पर्दा पृथ्वीको छाँया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो ।

तर नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने आज चन्द्रग्रहण नलाग्ने दाबी गरेको छ । समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले समितिमा पनि यसबारेमा छलफल भएको तर आज चन्द्रग्रहण नलाग्ने निष्कर्ष निकालिएको बताए ।

यो ग्रहण नाङ्गो आँखाले छुट्याउन नसकिने भएकाले पञ्चाङ्ग तथा पात्रोमा यसको चर्चा नगरिएको एस्ट्रोनोमिकल सोसाइटीको भनाइ छ ।

के हो पेनम्ब्रलु चन्द्रग्रहण ?

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छाँया दुई प्रकारको हुन्छ– सघन तथा बिरल ।

यदि चन्द्रमा पृथ्वीको सघन छायाँमा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छायाँमा पर्दा पेनम्ब्रलु चन्द्रग्रहण हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्