Logo

निगमले ग्यास रिफिलिङ प्लान्ट निर्माण गर्ने



काठमाडौँ, २७ पुस । सरकारले ग्यास ‘बोटलिङ, रिफिलिङ प्लान्ट’ र भण्डारण गृह निर्माण गर्ने भएको छ । एलपी ग्यासको भण्डारण क्षमता विस्तार तथा आफ्नै लोगोमा ग्यास उत्पादन सुरु गर्न नेपाल आयल निगमले ग्यास ‘बोटलिङ, रिफिलिङ प्लान्ट’ र भण्डारण गृह निर्माण गर्ने भएको छ । यस निर्माण कार्यका लागि निगमले आशय पत्र माग गरिसकेको छ ।

नेपाल आयल निगमकाले आगामी दिनमा मुलुकमा एलपी ग्यास अभाव हुन नदिने बताउँदै आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने उद्देश्यसहित झापाको चारआली र धनुषाको महेन्द्रनगरमा ग्यास ‘बोटलिङ तथा रिफिलिङ प्लान्ट’ निर्माण प्रक्रिया सुरु गरेको हो ।

निगमका अनुसार सो कारखाना परिसरमा ग्यास बुलेट भर्ने र झार्ने व्यवस्था समेतको पूर्वाधार निर्माण गरिनेछ । झापामा २९ बिघा र जनकपुरमा १० बिघा जग्गा निगमको स्वामित्वमा रहेको छ । झापा र जनकपुरमा तीन/तीन हजार मेट्रिक टन क्षमताका ग्यास भण्डारण गृह निर्माण गर्ने योजना निगमको छ । अहिले निगमसँग ग्यास भण्डारण गृह छैन ।

सम्भाव्यता अध्ययनमा प्रस्तावित प्लान्ट र भण्डारण गृह स्थापनाको सम्भावना, भौतिक पूर्वाधारको खाका, लागत खर्च, उत्पादन क्षमता लगायतको विषयमा विस्तृत प्रतिवेदन निगमलाई दिनेछन् ।

सम्भाव्यता अध्ययनका लागि चालू आर्थिक वर्षमा निगमले आठ करोड रुपियाँ विनियोजन गरेको छ । निगमका अनुसार आम उपभोक्ताका लागि पाँच, १४.२, १९ किलो र औद्योगिक क्षेत्रका लागि साढे चार सय किलो क्षमताका सिलिन्डर उत्पादन गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्