सुदूरपश्चिम प्रदेशसभा बैठक सञ्चालनको गतिविधि अब युट्युबुमा
कैलाली, २८ पुस । सुदूरपश्चिम प्रदेशसभा भवनमा हुने प्रदेशसभा बैठक सञ्चालनका गतिविधि अब ‘युट्युब’मार्फत हेर्न सकिने भएको छ ।
अहिलेसम्म भएरगरेका कार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आवश्यकताअनुसार ‘युट्युब लाइभ’ को व्यवस्थामार्फत प्रदेश सभा बैठक सञ्चालनका गतिविधि प्रत्यक्ष प्रसारण गरिने भएको हो ।
सुदूरपश्चिम प्रदेशसभाको युट्युबमार्फत वेभसाइट लग इन गरी हेर्न सकिने जनाइएको छ । यसअघि प्रदेशसभाको बैठकका गतिविधिको अडियोको रेकर्डमात्र हुने गरेको थियो ।
प्रदेशका ९ वटै जिल्लामा प्रदेश सभाको सम्बन्ध स्थापना गर्नमा टेवा पुर्याउन, संसदीय गतिविधि जनतासमक्ष पुर्याइ सूचना आदानप्रदानका लागि प्रदेशसभाका साथै प्रत्येक जिल्लाका जिल्ला समन्वय समिति कार्यालयमा ‘भिडियो कन्फ्रेन्स’ समेत जडान गरिएको छ ।
प्रदेशसभा बैठकद्वारा भएरगरेका गतिविधिको सूचना सम्प्रेषण गर्नमा सहजता ल्याउन ‘मिडिया सेन्टर’ स्थापनाका साथै प्रदेश सभा सदस्य बस्ने टेबलमा ‘डिजिटल माइक’को व्यवस्था र प्रदेश सभाको ‘रेकर्डिङ सिस्टम’को स्तरोन्नति गरिएको छ ।
आउँदा दिनमा प्रदेशसभाका विषयगत समितिको बैठक कक्ष निर्माण, ई–लाइब्रेरी स्थापना, आवश्यक ठाउँमा सीसीटीभी क्यामरा जडानलगायतका कार्य गर्ने लक्ष्य प्रदेश सभा सचिवालयको छ ।
