नेतृत्व परिवर्तनसँगै बजार अनुगमन घट्यो
काठमाडौं, २८ पुस । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्व नेत्रप्रसाद सुवेदीले सम्हालेसँगै बजार अनुगमनको क्रम घटेको विभागको तथ्याङ्कबाट देखिएको छ । विभागको नेतृत्व सुवेदीले लिनुअघिका दुई महिनामा प्रत्येक महिना २ सय भन्दा बढी भएको बजार अनुगमन अहिले १ सयको हाराहारीमा झरेको छ ।
विभागको तथ्याङ्क अनुसार गत भदौमा २ सय २२ वटा अनुगमन भएका थिए । त्यस्तै असोजमा २ सय ४७ वटा अनुगमन भएका थिए । कात्तिकमा तिहार बिदा तथा तत्कालिन महानिर्देशक योगेन्द्र गौचनको अवकाश लगायतका कारणले खासै बजार अनुगमन नभएको देखिन्छ ।
विभागका तत्कालिन महानिर्देशक गौचनले सेवा अवधि पुरा भई गत कार्तिक १४ मा आनिवार्य अवकाश पाएका थिए । त्यसपछि कार्तिक २५ गतेदेखि विभागको नेतृत्व सुवेदीले सम्हाले । कार्तिक १४ देखि २५को बीचमा विभाग नेतृत्व विहीन भए पनि ३५ वटा अनुगमन भए ।
विभागमा आउनु अघि भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रहेका सुवेदीको विभागमा प्रवेश भएदेखि मातहतका कर्मचारीलाई अनुमगन नगर्न निर्देशन दिएको विभाग सुत्रले जनाएको छ । विभागका एक कमर्चारीका अनुसार सुवेदीले आफु कोलकाताको महावाणिज्य दुतको ुक्यान्डिडेटु भएको भन्दै विवादमा आउने डरले अनुगमन नगर्न निर्देशन दिएका थिए ।
सुवेदी आउनु अघिको दुई महिना भदौ र असोजमा क्रमशः २ सय २२ र २ सय ४७ वटा भएको अनुगमन सुवेदी आएपछि मंसिरमा १ सय ६ र पुस २२ गतेसम्म ८५ वटा मात्रै भएको विभागको विवरणमा उल्लेख छ ।
