पौने चार लाख बैंक खाता निष्क्रिय, २ अर्ब ५० करोड बेवारिसे
काठमाडौं, २९ पुस । बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले राखेको २ अर्ब ५० करोड रुपैयाँ बेवारिसे अवस्थामा रहेको छ । राष्ट्र बैंकका अनुसार १० वर्षदेखि कारोबार नभएको निक्षेप खाताको संख्या ३ लाख ७४ हजार १५ छ । ती खातामा करिब २ अर्ब ५० करोड रुपैयाँ बेवारिसे भएको हो ।
खाताका निक्षेपकर्ताले कारोबार नगरेको मात्र होइन, लामो समयदेखि खातामा रहेको रकमबारे सोधखोजसमेत गर्न आएका छैनन् ।
लामो समयसम्म खाता निष्क्रिय रहे राष्ट्र बैंकले उक्त खाताको रकम खिचेर प्रयोग गर्नेसमेत ऐनमा व्यवस्था छ । २० वर्षदेखि निष्क्रिय रहेका खाताको रकम खिचेर बैंकिङ विकासमा खर्च गरिने सोचसमेत राष्ट्र बैंकले बनाएको छ ।
कस्तो खाता निष्क्रिय हुन्छ ?
सामान्यतया चल्ती र कल निक्षेप खातामा ६ महिनासम्म कारोबार नभए खाता निष्क्रिय भएको मानिन्छ । त्यस्तै, बचत खातामा ३ वर्षसम्म कुनै कारोबार नभएमा पनि निष्क्रिय मानिन्छ । खातामा नगन्य रुपैयाँ हुँदा, निक्षेपकर्ता बिदेसिँदा पनि निष्क्रिय हुन्छ ।
अझ पछिल्लो समय बैंकहरूले ‘सबैको बैंक खाता’ अभियान अन्तर्गत एक सय रुपैयाँमै पनि खाता खोलिदिने गरेका छन् । दुई वा दुईभन्दा बढी खाता रहेकाको पनि खाता निष्क्रिय हुन्छ ।
के हुन्छ खाताको रकम ?
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा खाता निष्क्रिय भएको ५ वर्ष नाघे यस्ता खाताबारे एकपटक राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ । बैंकहरूले पनि हरेक आर्थिक वर्षमा १० वर्षदेखि निष्क्रिय खाताको विवरण राष्ट्र बैंकलाई गराउनु पर्ने हुन्छ ।
बैंकहरूले सार्वजनिक रूपमा जानकारी गराउँदासमेत निक्षेपकर्ता वा उसका आफन्तले रकम नलगेमा २० वर्षपछि ‘बैंकिङ विकास कोष’मा जाने व्यवस्था छ ।
नयाँ पत्रिकाले लेखेको छ ।
