पूर्वप्रधानमन्त्रीहरुको तोकेभन्दा बढी सुरक्षाकर्मी : हेर्नुहोस् कस्को कतिजना
काठमाडौं, २९ पुस । सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्यविधि मिचेका हुन् ।
गृह मन्त्रालयले बनाएको कार्यविधि अनुसार पूर्वप्रधानमन्त्रीलाई नौ जनासम्म सुरक्षाकर्मी दिइने व्यवस्था छ । तर, पूर्वप्रधानमन्त्रीले व्यक्तिगत सुरक्षाका लागि कार्यविधि नाघेर बढी सुरक्षाकर्मी राख्दै आए पनि गृह मन्त्रालयले ती सुरक्षाकर्मी फिर्ता गर्न सकेको छैन । प्रहरीका निकाय पनि ती सुरक्षाकर्मी फिर्ता गराउन असफल हुँदै आएका छन् ।
स्रोतका अनुसार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालदेखि शेरबहादुर देउवा हुँदै लोकेन्द्रबहादुर चन्दसम्मले व्यक्तिगत सुरक्षाका लागि सरकारी कार्यविधि मिचेर सुरक्षाकर्मी राखेका छन् ।
प्राप्त तथ्यांक अनुसार पूर्वप्रधानमन्त्री दाहाललाई कार्यविधि अनुसार सुरक्षा प्रयोजनका लागि नौ जना सुरक्षाकर्मी उपलब्ध गराइनुपर्नेमा ७७ जना दिइएको छ । विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन समितिको २५ जेठ २०६८ को बैठकले भने पूर्वप्रधानमन्त्री दाहाललाई २६ जना सुरक्षाकर्मी दिने निर्णय गरेको थियो । त्यसपछि २२ माघ २०७४ को मन्त्रिपरिषद् निर्णयले खटाउँदै आएको सुरक्षाकर्मी यथावत् राख्ने निर्णय गरेको थियो ।
यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत कार्यविधि मिचेर सुरक्षाकर्मी राख्दै आएका छन् । उनलाई १९ जना सुरक्षाकर्मी दिइएको छ । सो संख्या कार्यविधि अनुसार पाउनुपर्ने भन्दा १० जना बढी हो । यसैगरी, पूर्वप्रधानमन्त्री देउवाले ३८ जना सुरक्षाकर्मी राख्दै आएका छन् । उनलाई समेत कार्यविधि मिचेर २९ जना बढी सुरक्षाकर्मी दिइएको हो ।
पूर्वप्रधानमन्त्री देउवा २२ माघ २०७४ को मन्त्रिपरिषद् बैठकले २१ जना सुरक्षाकर्मी उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निवासमा समेत १७ जना सुरक्षाकर्मी छन् । सो संख्यासमेत कार्यविधिले तोकेभन्दा आठ जना बढी हो ।
यसैगरी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई निवासमा ११ जना सुरक्षाकर्मी खटिएको सुरक्षा स्रोतले जनाएको छ । यस्तै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी खटिँदै आएका छन् । यो पनि कार्यविधिभन्दा बढी हो ।
यसैगरी, पूर्वप्रधानमन्त्री चन्दको व्यक्तिगत सुरक्षामा १२ जना खटिँदै आएका छन् । सो संख्या कार्यविधि अनुसार तीन जना बढी हो । यस्तै अर्का पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका लागि १२ जना सूरक्षाकर्मी खटिंदै आएका छन् ।
