अनुदानका लागि सम्झौता गर्ने समयसीमा सकिँदै
काठमाण्डौ, २९ पुस । भूकम्प पीडित लाभग्राहीले सरकारले दिने अनुदान लिन सम्झौता गर्ने समयसीमा मङ्गलबार सकिँदैछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म पनि अनुदानको सम्झौता नगरेका र पहिलो किस्ता ५० हजार रुपैयाँ नलिएका लाभग्राहीलाई पालिकाको सिफारिसमा पुस मसान्तसम्म सम्झौता गर्ने समय दिएको थियो ।
प्राधिकरणका अनुसार आठ लाख २८ हजार लाभग्राहीमध्ये सात लाख ७८ हजारसँग सम्झौता भएको छ । झण्डै ५० हजार लाभग्राहीसँग सम्झौता हुन सकेको छैन ।
एकीकृत बस्ती, जोखिम वर्ग र क्षेत्र, भूमिहिन तथा प्रबलीकरणका लाभग्राहीले पहिलो किस्ता माघ मसान्त, दोस्रो वैशाख र तेस्रो किस्ता असार मसान्तसम्ममा लिइसक्नु पर्नेछ ।
यस्तै गएको कात्तिक मसान्तसम्म दोस्रो किस्ता नलिएका लाभग्राहीले पालिकाको सिफारिसमा माघ मसान्तसम्म दोस्रो किस्ताको रकम लिन सक्ने छन् । लाभग्राहीलाई तेस्रो किस्ता भने असार मसान्तसम्म लिइसक्न प्राधिकरणले अनुरोध गरेको छ ।
सरकारले भूकम्प पीडितलाई ५० हजार, एक लाख ५० हजार र एक लाख गरी तीन किस्तामा तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।
