Logo

२०७७ सालको दशैँ–तिहार २५ दिन पर धकेलियो



काठमाडौं, १ माघ । २०७७ सालको दशैँ र तिहार झण्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ । यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको हो । यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको छ ।

मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ । मलमासका कारण आउँदो वर्ष विवाहको साइत पनि घटेको नेपाल पञ्चाङग निर्णायक समितिको भनाइ छ ।

स्रोतका अनुसार आउँदो वर्ष विवाहको साइत पनि १५ दिन मात्रै छ । यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक समितिले गृह मन्त्रालयलाई बिदा सार्वजनिक गरी क्यालेन्डर छपाइका लागि बाटो खुला गर्न आग्रह गरेको छ । टोलीले गृह मन्त्री रामबहादुर थापालाई भेटेर यस्तो आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्