पेट्रोलियम पाइपलाइन बिछ्याउन भारतसमक्ष प्रस्ताव
काठमाडौं, २ माघ । सरकारले पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पाइपलाइन बिछ्याउन भारतसमक्ष प्रस्ताव गरेको छ । पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन सरकारले भारतसमक्ष यस्तो प्रस्ताव गरेको हो ।
भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको हो । बैठक पुस २७/२८ गते बसेको थियो । नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको यो पहिलो बैठक हो । बैठकमा नेपालले गरेको सो प्रस्तावमा भारतीय पक्ष सकारात्मक रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
भारतीय आयल निगमले सो प्रस्तावको अध्ययन तथा मूल्याङ्कन गरेपछि अध्ययन कार्य अगाडि बढाउने छ । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइनका रूपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको पाँच महिनापछि दोस्रो अन्तरदेशीय पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीले भदौ २४ गते संयुक्त रूपमा उद्घाटन गरेपछि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको हो ।
